खबर पूर्वाञ्चल
दुई दशकभन्दालामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवा वर्ष मोती पुरस्कार–२०७७’ प्रदान गर्न लागेको हो ।
पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशिसहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । नवोदितलाई वरिष्ठ कवि तुलसी दिवसले नगदसहित स्वर्ण पदक र सम्मानपत्र समर्पण गरे ।
युवा वर्ष मोती पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । सो पुरस्कार हरेक वर्ष मोती जयन्तीका दिन प्रदान गर्ने गरिन्छ । गत वर्ष कोभिडका कारण स्थगित भएको थियो ।
विशेषतःकविता विधामा कलम चलाउने नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कविता संग्रह प्रकाशित छन् । साथै, केही पुस्तकहरूको सम्पादनसमेत गरिसकेका नवोदितका सिर्जनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरूमा प्रकाशित छन् । उनको ‘समयको बयान’कविता संग्रह काठमाण्डौको रत्न पुस्तक भण्डारले भदौभित्रै प्रकाशित गर्दैछ । कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याललाई समर्पण गरेको गरेको छ ।
पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिएको हो । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उप–प्राध्यापक हुन् । साहित्यतर्फ उनी बाल साहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् ।
त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाण्डौ बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिएको कोषले जनाएको छ । पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष हुन् । मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ । चारै जना कविलाई वरिष्ठ कवि दिवसले दोसल्ला ओढाएर सम्मानपत्र र स्वर्णपदक समर्पण गरे ।