RUMPUM
animated ellipse animated ellipse

साहित्यकार खरेलको ‘टिलो’ कथा सङ्ग्रहमाथि परिचर्चा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७८, शनिबार १६:०२
513
Shares
विराटनगर / साहित्यकार एवं पत्रकार शंकर खरेलको हालै प्रकाशित ‘टिलो’ कथा सङ्ग्रहका बारेमा परिचर्चा गरिएको छ ।

चेतना संरक्षण प्रतिष्ठान विराटनगरको नियमित मासिक कार्यक्रमअन्तर्गत ‘टिलो’ कथा सङ्ग्रहमाथि परिचर्चा गरिएको हो । मकालु टेलिभिजनको हलमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार र समीक्षकले ‘टिलो’ कथा संग्रहमाथि आफ्ना समालोचकीय दृष्टिकोण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार रामबाबु दाहालले पाठकीय दृष्टिकोण राखे । उनले सङ्ग्रहभित्रका सबैजसो कथाले पाठकको मन जित्ने दाबी गरे । सङ्ग्रहमा केही कमीकमजोरी भए पनि कथाकारले पाठकको मनोविज्ञानलाई बुझेर कथा लेखेको उनको टिप्पणी थियो ।

अर्का साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ले कथासङ्ग्रहमा प्रयोग भएका भाषाशैलीका विषयमा प्रकाश पारे । सङ्ग्रहमा भाषाशैली सरल र सबैले बुझ्ने किसिमबाट प्रयोग भएको उनको टिप्पणी थियो । त्यस्तै साहित्यकार हरि कट्टेलले कथाको विषयवस्तु र प्रस्तुतिका विषयमा धारणा राखेका थिए । उनले सङ्ग्रहका कथाले समाजका गलत प्रवृत्तिलाई सशक्त रुपमा उजागर गरेको उल्लेख गरे । उनले भने, “सङ्ग्रहमा समावेश गरिएका कथामा आफ्नै गाउँ–ठाउँका विषयवस्तु र दिनहुँ भेटिरहने व्यक्ति नै पात्रका रुपमा उभ्याइएको छ ।”

साहित्यकार भरत गुरागार्इंले कथासङ्ग्रहलाई आधार मानेर लेखेको ‘टिलो’ कविता सुनाए । कथाकार खरेलले लेखकीय मन्तव्य राख्दै कथाका विषयवस्तु र पात्र काल्पनिक नभएर यथार्थमा आधारित भएको बताए । उनले समाजमा देखे भोगेका विषयलाई आफूले कथामा उतारेको प्रस्ट पारे । “सङ्ग्रहका कथाहरू सतप्रतिशत यथार्थमा आधारित छन्,” उनले थपे, “त्यसमा थोरै कल्पनाको जलपमात्रै लगाइएको छ ।”

आयोजक संस्थाकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रतिष्ठानका महासचिव उमेश दाहाल, कार्यक्रम संयोजक मीनकुमार नवोदितलगायतले कथा सङ्ग्रहका विषयमा आ–आफ्ना धारणा राखे । हालै प्रकाशित सङ्ग्रहमा विभिन्न शीर्षकका १९ वटा कथा सङ्ग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर