पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८५ पीसीआर र ४३८१ एन्टीजेन नमुना गरी ११ हजार ५६८ परीक्षण गर्दा २८९२ संक्रमित थपिएका हुन् । यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २६३६ भन्दा २५६ जनाले बढी हो । त्यस्तै सोमबार २,४४४ जना संक्रमित भेटिएकामा आइतबार १,९२० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।
आज आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले संक्रमण उकालो लाग्दै २६.३ प्रतिशत पुगेको जानकारी दिए । केही दिन अघिसम्म २३ प्रतिशत रहेको संक्रमण दर झन्डै साढे तीन प्रतिशतले वृद्धि भएको हो । प्रवक्ता पौडेलले भने, ‘केही दिनको तुलनामा संक्रमण पुनः बढेको हो । जोखिम हटेको होइन ।’
सोहि अवधिमा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ९११२ जनाको मृत्यु भएको छ । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।