RUMPUM
animated ellipse animated ellipse

 विवेकशील साझा दलका संस्थापक नेता थापाको निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७८, मंगलवार १८:१०
387
Shares
काठमाण्डौ /विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणबाट थलिएका थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोभिड–१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ गते मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘आज अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं ।’

परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

नेपालमा वैकल्पिक दलको खाँचो छ र त्यसलाई युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै उनले फरक धारको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो । सो दलको तर्फबाट संविधानसभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ४ जना सदस्यहरू उठाइएको थियो ।

संविधानसभाको दोस्रो चुनावपछि कानुनी रूपमा दर्ता भएको यो दलपछि रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टीसँग एकीकरण गरेर विवेकशील साझा दल बनेको थियो । नेपालमा वैकल्पिक राजनीतिको वकाल गर्ने थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन् ।

कोरोना संक्रमणका कारण उनी बिरामी परेपछि उनको उपचारका लागि शुभेच्छुकहरुले स्वःस्फूर्त रुपमा चन्दा संकलन अभियानसमेत संकलन गरेका थिए, जहाँ देश तथा बिदेशका हजारौं आम नागरिकले उनको उपचारका लागि सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर