खबर पूर्वाञ्चल
मोरङ प्रहरीले बढी मुल्यमा औषधि बेचेको गुनासो आएपछि आज दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई पक्राउ गरेको हो ।
उनीहरूमाथि औषधि महँगोमा बिक्री गरेको आरोप छ । गोलबजार फार्मेसीले २६ दिन अस्पताल बसेका बिरामीको उपचारमा चार लाख ५५ हजारको औषधि प्रयोग भएको भन्दै आफन्तलाई बिल थमाएको थियो । प्रयोग भएको भन्दा धेरै औषधिको बिल आएपछि बिरामीका आफन्तले प्रहरीमा खबर गरेका थिए ।
पश्चीमबासी फार्मेसीको सञ्चालकले पनि उपचारमा रहेका बिरामीलाई औषधिमा ठगी गरेको आरोप छ । औषधिको कालोबजारी गरेको गुनासो आएपछि अनुसन्धानका लागि फार्मेसी सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उनले कालोबजारी गरेको पाइए कारवाही प्रक्रिया अघि बढाइने बताए ।