विराट गोल्डकप कहिले हुने अन्योल, ट्रस्टीजभित्र मतान्तर सुरु

खबर पूर्वाञ्चल, ६ फाल्गुन २०७७, बिहीबार ०९:५०
फाइल तस्वीर

विराटनगर / विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटो संस्करण कहिलेबाट सुरु गर्ने अन्योल सुरु भएको छ ।

विराटनगरमा गत शनिबार आयोजक विराट गोल्डकप ट्रस्टको बैठकले प्रतियोगिताको संयोजकमा विराटनगरका युवा व्यवसायी मनोज विक्रम शाहलाई जिम्मा दिएसंगै प्रतियोगिता तयारी सुरुआत हुने देखिएको थियो । तर, फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको प्रतियोगिता तालिकाका ब्यस्त हुँदा गोल्डकप प्रतियोगिता जेष्ठसम्म धकेलिने देखिएको छ । चैत्रभित्र प्रतियोगिता सम्पन्न गर्नेगरि समय मिल्न सक्ने एन्फाको प्रतियोगिता समितिले जनाएको छ । समितिको संयोजक विजय घलेले भने, ‘चैत्रमा प्रतियोगिता सक्ने वा जेष्ठमा गर्ने भन्ने विषयमा छलफल हुदैछ । चैत्रभित्र सक्ने गरि गदाँ समय निस्किन सक्छ । बैशाखमा समय निकाल्न धेरै कठिन छ ।’

गोल्डकप ट्रस्टीज एवं एन्फाका सहायक महासचिव बसन्त अर्यालले एन्फासंग प्रतियोगिताका लागि चैत्र २५ गतेबाट समय माग गरेको जनाए । पोखरामा हुने अर्को गोल्डकपको फाइनल २८ गते रहेको हुँदा तालिका मिलाउन एन्फासंग छलफल भइरहेको बताएका अर्यालले अन्य कुनै प्रतियोगितासंग तालिका नजुधाईकन समय निकल्न एन्फासमक्ष आग्रह गरेको बताए ।

ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले प्रतियोगिता गराउने उद्धेश्यसहित कार्य सुरु गरिएको बताए । अन्र्तराष्ट्रिय क्लबलाई भित्राउने संभावना यसपटक कम रहेको बताएका अध्यक्ष बानियाँले कोभिड १९ ले बाहिरबाट आउने टोलीलाई क्वारेन्टिनमा राख्नुपर्ने, आउँदा सहज नहुने हुदाँ घरेलु टोली नै प्राथमिकतामा रहने बताए । तर प्रतियोगिताको समयका कारण केही अन्योलता आएको उनको भनाई छ ।

यसबीच, ट्रस्टभित्र भने प्रतियोगिता कस्ले गराउने भन्ने विषयमा पदाधिकारीबीच मतान्तरले स्थान पाएको छ । ट्रस्टभित्र एकपक्षले प्रतियोगिता फुटबलसंग आवद्ध ट्रस्टीजले नै गर्नुपर्ने जनाउँदै आएको छ । फुटबलभन्दा बाहिरलाई संयोजन गर्न दिदाँ ट्रस्टको गरिमामा समेत प्रश्न उठ्न सक्ने सो पक्षको बुझाई छ । ट्रस्टीज एवं महासचिव मनोज बस्नेतका अनुसार फुटबलको गरिमा बढाउन ट्रस्टको बैठकमा आपैmले गराउनुपर्ने धारणा राखिएको थियो। उनले भने, ‘अब गोल्डकपमा सहभागिता जनाउँदिन । ट्रस्टभित्र पद्धतिको विरोध गर्दै फुटबलले नै प्रतियोगिता गराउनुपर्छ भन्ने कुरा राखेको हो । त्यहीभएर अब झोलामा रहेको ट्रस्टको भौतिक संरचना बनाउनेतर्फ केन्द्रित हुनेछु ।’ ट्रस्टका अध्यक्षलाई जानकारी गराएर शनिबारको बैठकमा अनुपस्थित भएको बताएका बस्नेतले आफु बैठकमा नहुँदा संयोजक तोकिनु अध्यक्षको कमजोरी भएको उल्लेख गरे ।

अर्का एक ट्रस्टीजका अनुसार फुटबल आवद्ध शीर्षतहका पदाधिकारी प्रतियोगिता गराउन डराएका छन् । ट्रस्टमा १७ लाख रुपैया रहेको बताएका ती ट्रस्टीजका अनुसार महानगरपालिकाले १५ लाख, प्रदेश सरकार समाजिक विकास मन्त्रालयले २५ देखि ३० लाख रुपैया प्रतियोगिताका लागि उपलब्ध गराउन तयार भएका छन् । विगतका समय जस्तो परिस्थिती असहज नहुँदापनि फुटबल आवद्ध ट्रस्टीजले प्रतियोगिता गराउनबाट पन्छिएको गुनासो उनको छ । यसक्रममा महानगर प्रमुख भीम पराजुलीले समेत ट्रस्टले विवादरहित प्रतियोगिता गराउन नसके महानगरनै प्रतियोगिता गराउन अघि सर्ने बताएका थिए ।

यसअघि फुटबल आवद्ध भीम कुवँरले, उद्योगी राजेन्द्र राउत र उद्योगी नविन रिजालले प्रतियोगिताको संयोजकत्वको जिम्मेवारी सम्हाली सकेका छन् ।

सहिद मैदानमा रात्रीकालिन खेल गर्न सक्नेगरि फ्लड लाइट्स जडान भएपछि ट्रस्ट प्रतियोगिता गर्नका लागि उत्साहित भएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश १ को ४ करोड २९ लाख रुपैया सहयोगमा मैदानमा फ्लड लाईट्स जडान भएर परिक्षणका क्रममा रहेको छ। यसअघि, २०७४ साल चैत्रमा पहिलोपटक उद्योगी नविन रिजालको संयोजकत्वमा मैदानमा दिवारात्री गोल्डकप प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५