पूर्वाञ्चल खबर
नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज र र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक–एक जनाको मृत्यु भएको हो ।
मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशीमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सोमबार बिहान ६ः४५ बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कात्तिक १८ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
नोबेलमा तीन संक्रमितको मृत्यु भएको छ । इलाम, सुनसरी र सिरहाका कोरोना संक्रमितको नोबेलमा मृत्यु भएको हो ।
इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मधुमेह र फोक्सोसम्बन्धी समस्या रहेका वृद्ध पुरुषलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोही दिन रिपोर्ट पोजेटिभ आएको दाहालले बताए ।
सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । उनको मृत्यु सोमबार बिहान ३ बजेतिर भएको हो । दाहालका उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषको सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।
सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको थियो ।
विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा सुनसरी र झापाका संक्रमितको मृत्यु भएको छ ।सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको आइतबार राति ८ः४० बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते शनिबार अस्पताल भर्ना गरिएको थियो ।
झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा मृत्यु भएको छ । अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनियाको समस्या थियो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा सोमबार बिहान ६ बजेतिर वृद्धाको मृत्यु भएको हो ।