animated ellipse animated ellipse

युवा समाजसेवी मनिष गुरुङ कांग्रेसमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७७, बुधबार १८:२७
1.31k
Shares
काठमाण्डौं / नेकपाका युवा नेता एवं समाजसेवी मनिष गुरुङसहितका युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसले लोकतन्त्र र मुलुकको रक्षा गर्ने निष्कर्ष निकालेर कांग्रेसमा प्रवेश गरेको उनीहरुको भनाइ छ । गुरुङसँगै विमल श्रेष्ठ, सौगात खड्का, अजिल यादव, निर्मल सिग्देललगायतका युवासमेत कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाण्डौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा आयोजित कार्यक्रममा युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । सभापति देउवासहित केन्द्रीय सदस्य अमृत अर्याल पूर्व राज्यमन्त्री उदय शम्शेर राणा, दिलीप गच्छदार, प्रदेश सांसद विन्दिया कार्की, मोरङ कांग्रेसका सहसचिवसमेत रहेका सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकाल, मोरङ क्षेत्र नम्बर ६ का सचिव चेतराज रेग्मी, नेविसंघका महामन्त्री मनोज वैद्यलगायतले अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

केन्द्रीय सदस्य अर्यालको अग्रसरतामा युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी काम गर्न नवप्रवेशीहरुलाई आग्रह गरे । कांग्रेसले अघि सारेको अर्थनीतिअनुसार नै मुलुक अहिले पनि अगाडि बढिरहेको दाबी गर्दै देउवाले भने, “तपाईंहरु ढुक्क हुनुहोस् कांग्रेसले युवाहरुलाई अरुको मुलुकमा गुलामी गर्न जाने होइन स्वदेशमै उद्यमी बनाउन चाहन्छ ।”

अर्यालले मनिषजस्ता ऊर्जाशील युवा आउनु कांग्रेसको सुखद भविष्य रहेको बताए । कोरोना भाइरस (कोभिड–१९) को महामारी कम हुने बित्तिकै भव्य समारोहका बीच २ हजारभन्दा बढी युवा कांग्रेसमा प्रवेश गर्ने नवप्रवेशी गुरुङले दाबी गरे । “कांग्रेसले मात्रै युवाका समस्या बुझ्ने र मुलुकको आर्थिक विकासमा योगदान दिन सक्ने भएकाले हामी कांग्रेसमा आबद्ध भएका हौं,” उनले थपे, “अझै मोरङमा मात्रै दुई हजारभन्दा बढी युवा कांग्रेस प्रवेशका लागि तयारी अवस्थामा छन् ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर