खबर पूर्वाञ्चल
रामधुनी नगरपालिका– ५ कि १७ वर्षीय किशोरीलाई सोमबार विहान विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको थियो । भारतको फारबिसगञ्ज क्षेत्रमा पुगेर नेपाल फर्कदै गर्दा विराटनगर महानगरपालिका – १७ इस्लामपुरबाट किशोरीको उद्धार गरिएको हो ।
किशोरीलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ । किशोरीलाई भारततर्फ लैजाने सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाका मुख्य योजनाकार सुमित रहेको र प्रदीप उनका सहयोगीको भूमिका देखिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । झुम्का बसाइकै क्रममा चिनजान भएकी किशोरीलाई सुमितले सिकाए अनुसार ललाईफकाई मनिकाले विराटनगर ल्याएको खुलेको छ ।
फेसबुकको चिनजानका आधारमा सुमितले किशोरीलाई विराटनगर ल्याउन मनिकालाई प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । मनिका ती किशोरीको घर नजिकै बस्ने हुनाले घरमा पनि आउजाउ थियो । प्रहरीका अनुसार पक्राउ परेकी मनिकाले ती किशोरीलाई विराटनगरमा एउटा पूजामा कन्या पूजामा सहभागी हुने भन्दै सोमबार विहान घरबाट सँगै लिएर आएकी थिइन् । पूजामा कन्या पूजावापत ५ हजार रुपैयाँ दिने र आफूले एउटा मोवाइल किन्ने प्रलोभन मनिकाले ती किशोरीलाई दिएकी प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विराटनगर ल्याएपछि उनीहरुले जोगवनी हुँदै गाडीमा राखेर फारविसगञ्ज लैजान खोजेको देखिएको छ। त्यस क्रममा त्रसित बनेकी किशोरी गाडीबाट हामफालेर भागेको पाइएको उद्दारमा खटिएको साना हातहरुका विराटनगर प्रमुख विवश श्रेष्ठले बताए । बालिकालाई बली चढाउनका लागि लगिएको देखिएको बताए । तर संयोगले उक्त घटना हुन नपाएको बताए ।
विराटनगर बसपार्क उत्रिएपछि उनलाई सुमित र प्रदीपसमेत मिलेर भारततर्फ लगेका थिए । प्रहरीका अनुसार मनिका फेसबुक मार्फत सुमितसँग नजिकिएकी थिइन् । पछिल्लो केही दिनयता मनिकालाई सुमितले विवाह नभएकी युवती ल्याइदिए ४–५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।
किशोरी पाँच फिट २ इञ्च हुनुपर्ने, विवाह नभएको र महिनावारी नभएको हुनुपर्ने सर्त थियो । सुमितका नातामा भिनाजु पर्नेले पूजाका लागि भन्दै किशोरीको खोजी गरेका थिए ।
सोमबार भारत लैजाने योजना अनुसार मनिकाले किशोरीकी आमासँग विराटनगरमा हुने पूजामा आफ्नो साथी जान दिन अनुमति मागेकी थिइन् । सुरुमा असहमति जनाएकी किशोरीकी आमाले पूजामा कन्या पूजामा सहभागी हुने र २ घण्टापछि फर्किने भनेपछि अनुमति दिएकी थिइन् ।
तर साँझसम्म नफर्किएपछि किशोरीकी आमाले फोन गर्दा दुबैजनाको मोबाइल स्वीच अफ थियो ।
उता किशोरीलाई भारत र्पुयाएको समूहले त्यहाँको सम्पर्क व्यक्ति भेट्न नसकेपछि अलमलियो । त्यतिबेला किशोरीले आफू समस्यामा पर्न लागेको थाहा पाएपछि रुँदै नेपालतर्फ फर्किएको प्रहरीले बताएको छ ।
भारतीय सीमावर्ती क्षेत्र मोरङको इस्लामपुरमा साना हातहरु नामक संस्थाले सोधीखोजी गर्दा घटना शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरी स्रोतका अनुसार सुमितका भिनाजु भारतको सुपौल जिल्लामा बस्छन् । उनले सुमितलाई पूजाका लागि किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बेचबिखनका उद्देश्यले किशोरीलाई भारततर्फ लगेको हुनसक्ने बताए । ‘बली चढाउन लगेको भन्ने खुलेको छैन’ उनले भने ‘अनुसन्धानकै क्रममा छ ।’
पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।