AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध सेवन गर्न जोगवनी गएका विराटनगरका युवामाथि गोली प्रहार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०७७, सोमबार १२:४७
2.8k
Shares
विराटनगर / विराटनगर मटेरुवा नाका हुँदै भारतको जोगवनी लागुओषध सेवन गर्न गएका विराटनगरका एक जना नेपाली युवामाथि जोगवनीमा गोली प्रहार गरिएको छ ।

सीमा क्षेत्रको दशगजाअन्तर्गत भारततर्फको भूमिमा विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि आइतबार अपरान्ह गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

मटेरुवा प्रहरी चौकी नजिकै रहेको घटनास्थल भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्छ । मण्डल नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१७ मटेरुवा नाका हुँदै आइतबार दिउँसो ३ बजेतिरे भारत छिरेको केहीबेरमै उनीमाथि गोली प्रहार भएको खुलेको नेपाल प्रहरीले जनाएको छ । तर दशगजा नजिकै गोली प्रहारको घटना भए पनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले भने कुनै सुइँको पाएनन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत आवतजावत बन्द गरिएको बेला प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि भारतीय युवाले गोली प्रहार गरेका हन् ।

प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका मुकेश यादवले गोली प्रहार गरेको खुलेको छ । भारततर्फ केही साथीहरुसँग क्यारम खेलेर बसिरहेका यादवले आफू पुग्नसाथ विवाद गरेर गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका हुन् । गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ ।

गोली प्रहारपछि घटनामा संलग्नले उनलाई जोगवनीको क्लिनिकमा लगेर उपचार गराएका थिए । त्यहाँ उपचार गराएको पैसा तिर्ने विषयमा पुनः विवाद हुँदा पेस्तोल निकालेर यादवले तीन राउण्ड हवाईफायर गर्दै फरार भएको प्रहरीको भनाइ छ । घटनापछि स्थानीयबीच भागदौड मच्चिएको थियो । डराएर स्थानीय भागाभाग गर्न थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल आउन सफल भएको जानकारी मण्डलले प्रहरीलाई दिएका छन् । साँझ लगभग ७ बजेतिर नेपाल छिरेका उनले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए । तर त्यहाँका सुरक्षाकर्मीले कुनै वास्ता नगरेको उनको गुनासो छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल भारत जानुको कारणबारे पनि अनुसन्धान भइरहेको छ । गोली प्रहार गर्नेमाथि कार्वाही गर्न आवश्यक समन्वय गर्दै भारतीय प्रहरीलाई आग्रह गरेको उनको भनाइ छ ।

मण्डलले भने जोगवनीमा आफ्नो मावली रहेकाले त्यता जाने क्रममा घटना भएको बताएका छन् । तर प्रहरीले भने उनी लागुऔषधका दुव्र्यसनी रहेको फेला पारेको छ । प्रहरीले फेला पार्दा उनी लागुऔषधकै नशामा थिए । मण्डलले पनि आफूले लागुऔषध कोरेक्स सेवन गरेको प्रहरीलाई बताएका छन् ।

‘गोली प्रहार गर्ने भारतीय युवा लागुऔषधका कारोबारी भएको खुलेको छ । घटनामा घाइते भएका नेपाली युवा त्यसका सेवनकर्ता रहेछन्,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘नेपाली युवा लागुऔषध सेवन गर्न भारत गएको बेला घटना भएको देखिन्छ । त्यही विषयमा दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको हुन सक्छ ।’ भारतीय भूमिमा नेपाली युवामाथि गोली प्रहार भएको भन्दै नेपाल प्रहरीले गम्भीररुपमा अनुसन्धान अघि बढाएर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन भारतीय प्रहरीलाई आग्रह गरेको छ ।

घटना अनुसन्धानका सवालमा भारतीय प्रहरीसँग समन्वय पनि गरिरहेको छ । घटनाका बारेमा गम्भीररुपमा चासो लिँदै गोली प्रहार गर्नेको खोजी तीव्र बनाइएको जानकारी भारतीय प्रहरीले नेपाल प्रहरीलाई गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर