खबर पूर्वाञ्चल
मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६ पुरुष, ६ महिला, रंगेलीमा १३ पुरुष, ९ महिला, कटहरीमा २ महिला, झापाको अर्जुनधारामा ५ पुरुष , विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।
समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको विराटनगर महानगरपालिकाभित्र थप २२ जनालाई कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विराटनगरमा भेटिएका संक्रमितमध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् ।
संक्रमितहरुमध्ये प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुढामणी आचार्यसहित उनको परिवारका अन्य दुई सदस्य पनि छन् ।
विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । यस्तै कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ ।
प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।
प्रदेश १ मा आज ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.मेहताले बताए ।