खबर पूर्वाञ्चल
प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्था र दलित जनवर्गीय संघ संगठनहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङको प्रवेशद्वारमा रुकुम घटनाको विषयलाई लिएर धर्ना दिएका हुन् । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका लागि राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मा, नेपाल दलित संघका प्रतिनिधि सिताराम विश्वकर्मा, दलित मुक्ति संगठनका अध्यक्ष जितनारायण सरदार र रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माको नेतृत्वमा धर्ना दिइएको थियो । एक घण्टाको धर्नापछि मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन–पत्र बुझाइएको थियो ।
अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतालाई संविधान र कानुनले नै दिएको अवस्थामा आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका घटनाहरु घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध भएको ज्ञापन–पत्रमा उल्लेख छ । ज्ञापन–पत्र बुझ्नु हुँदै प्रमुख जिल्ला अधिकारी भुजेलले ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया