बाबुको हत्या गर्ने दुई छोरालाई प्रहरीले गर्यो सार्वजनिक, बुहारीबाट खुल्यो पोल

खबर पूर्वाञ्चल, ८ जेष्ठ २०७७, बिहीबार १९:४१

विराटनगर / आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीलाई दुईजना छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

६९ वर्षीय बाबु सत्यराम भनिने सिताराम चौहानको हत्या आरोपमा प्रहरीले जेठा छोरा मुन्ना भनिने रोहित र माइला छोरा नागेन्द्र चौहानलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
बुधबार साँझ विराटनगर–१४ झटियारिस्थित आफ्नै घरभित्र शव गाडिएको अवस्थामा फेला परेका सिताराम चौहानको हत्यामा उनकै दुई छोराको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
दुवै छोराले गत शनिबार मदिरा सेवन गरी बावुको हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । बाबुको हत्यामा कोदालो प्रयोग गरिएको खुलेको छ । हत्यापछि बाबुको शव घरभित्र चार फिटको गहिरो खाडल खनेर गाडेको एसपी अधिकारीले बताए । हत्या गर्ने योजना नबनाएको भए पनि मदिराको नशामा लठ्ठिएपछि आबेगमा आएर छोराहरूबाट हत्या गरिएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।

‘छोराहरूबाट मार्छु भन्ने योजना नभए पनि तत्काल रिसको आबेगमा आएर बाबुको हत्या भएको अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘शनिबार हत्या गरेपछि आइतबार मात्र शवलाई खाडल खनेर घर भित्रै गाडेको पाइयो ।’ राति ९ बजेको समयमा घर भित्र बाबुको हत्या गरेको थिए । ‘बाबुको हत्यापछि दुवै छोरा त्यस दिन घर भित्रसँगै सुतेको अनुसन्धानबाट देखियो,’ उनले भने, ‘बाबुको हत्या भएको खुल्ने डरले भोलिपल्ट मात्र शवलाई खाडल खनेर गाडेको खुलेको छ ।’ छोराहरूले काम गरेको पैसा बाबुले मागेपछि झगडा हुँदा छोराहरूले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

बाबुसँग जेठा छोरा रोहित बस्दै आएका थिए । माइला छोरा विराटनगर १५ भट्टीमोडमा बस्दै आएका छन् भने कान्छा छोरा ५ वर्षदेखि सम्र्पकविहीन छन् । भट्टीमोडस्थित माइला छोरा नागेन्द्रकोमा सत्यराम प्रायः जसो जाने गरेका थिए । ४÷५ दिनदेखि ससुराबा माइला छोराकहाँ नआएपछि बुहारी सत्यरामकोे घरमा बुधबार पुगेकी थिइन् । घरको ढोका खुल्ला भएर कोठा पूरै दुर्गन्ध र रगत लतपतेको टिसर्ट देखेपछि उनी इलाका प्रहरी कार्यालय रानी विराटनगरमा पुगेकी थिइन् ।

मोरङ प्रहरी र इप्रका रानीको प्रहरी टोली सत्यरामको घरमा पुग्दा करिब चार फिट गहिरो खाडल खनेर गाडेको अवस्थमा शव प्रहरीले बरामद गरेको थियो । प्रहरीले दुवै छोरालाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले बिहीबार डिजिटल पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । प्रहरीले दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

छोराले यसरी गरे बाबुको हत्या

दुवै जना मिलेर फरुवाले हानेर हत्या गरेपछि घर भित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडिएको प्रहरीको भनाइ छ । ज्याला मजदुरी गर्ने छोराहरूले शनिबार साँझ बाबुले पैसा मागेका थिए । ज्याला मजदुरी गरेर कमाएको १७ सय रुपैयाँ उनीहरूले कपडा र मदिरा सेवन गरेर सकेका थिए । घर पुगेपछि बाबुले जेठो छोरा रोहितसँग पैसा मागेका थिए । तर ज्यालामजदुरी गर्ने रोहितले आफूसँग पैसा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएपछि बाबु छोराबीच विवाद सुरु भएको प्रहरीको भनाइ छ ।

त्यतिबेला माइलो छोरो नागेन्द्र पनि बुवा र दाजु बस्ने घरमा पुगेका थिए । ‘विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बाबुको टाउकोमा प्रहार गरेका थिए । बाबु त्यहीँ ढले । त्यसपछि माइला छोराले पुनः दोस्रो पटक फरुवा प्रहार गरे । बाबुको प्राण गएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने । जेठा छोरा रोहित लागूऔषध पनि सेवन गर्ने गरेको पाइएको छ ।

बुहारीबाट खुल्यो पोल
बाबुको हत्यापछि नागेन्द्रले श्रीमतीलाई बाबुको हत्या गरेको बताएका थिए । तर, पछि उनले मदिराको सुरमा जिस्केको भन्दै टारेका थिए । खर्चका लागि बारम्बार आउने ससुरा चार दिनदेखि नआएपछि बुहारीले ससुरालाई फोन गर्दा फोन अफ भएपछि घर गएको प्रहरीले जनाएको छ । त्यसपछि उनी आइतबार घर गएर हेर्दा लुगामा रगत लागेको देखेपछि श्रीमान नागेन्द्रलाई लिएर इलाका प्रहरी कार्यालय रानी पुगेकी थिइन् ।

सूचना पाएलगत्तै रानी र जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेर खाल्डो उत्खनन गर्दा शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका दुई छोराले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

अविवाहित रहेका रोहित कर्कटपातको छानो भएको र काठले बनाएको एक तले घरमा बुवा बाबुसँगै बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५