खबर पूर्वाञ्चल
मंगलबारेमा ८ जनामा दादुरा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
८ जनामा दादुरा देखिएपछि सो क्षेत्रमा महामारी फैलिएको देखिएको छ । दादुरा सरुवा रोग भएको र समयमा उपचार नगरिए बिरामीको ज्यान जाने चिकित्सकहरु बताउँछन् ।
वैशाख १ गते १ जनामा दादुरा संक्रमणको आशंका भएपछि परीक्षण गर्दा दादुरा पोजेटिभ देखिएको थियो । त्यसपछि वैशाख १६ गते अर्को परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको टोलीसहित प्रदेश सरकारको टोलीले स्याम्पल परीक्षण गर्दा थप ६ जनामा दादुरा देखिएको हो ।
निर्देशनालयले वडा नम्बर ३ मा दादुरा महामारी भएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा,प्रदेश स्वास्थ्य निर्देशनालय र उर्लावारी नगरपालिकालाई जानकारी गराएको छ । यस्तै खोप निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठको टोलीले स्याम्पल परीक्षण गर्दा थप ६ जनामा दादुरा देखिएको पुष्टी भएपछि वडा नम्बर ३ मंगलबारेलाई दादुरा महामारी घोषणा गरिएको हो ।
यसैबीच उर्लाबारी नगरपालिकाले ज्वरो,आउने रुघाखोकी लाग्ने र शरीरिमा विमिरा निस्कने जस्ता लक्षण तथा चिन्हहरु देखा परे तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । नगरपालिकाका मेयर खड्ग फागोले दादूराको नियन्त्रणका लागि नगरपालिकाको स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिईसकेको बताए ।
दादुराका लक्षण देखिएका बिरामीहरुलाई मंगलबारे अस्पताल वा अन्य कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न मंगबलारे अस्पतालका प्रमुख डा। योगेश मण्डलले आग्रह गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया