विराटनगर / विराटनगरमा लकडाउन उल्लङ्घन गर्नेहरुलाई प्रहरीले २ घण्टा सडकमा उभ्याएर प्रशिक्षण लिन सुरु गरेको छ ।
लकडाउन उल्लङ्घन गर्नेको संख्या दिनहु बढ्दै गएपछि प्रहरीले उल्लङ्घन गर्नेहरुलाई सडकमा उभ्याएर प्रशिक्षण लिन थालेको हो । प्रहरीका अनुसार उनीहरुलाई डेढदेखि दुई घण्टासम्म सडकमा उभ्याएर उनीहरुबाटै प्रशिक्षण लिन थालिएको हो ।
विराटनगरमा बिहान र बेलुका मानिसहरुको चहलपहल बढ्दो भएकाले गत चैत्र २८ देखि बिहान ७ बजे र बेलुका ५ बजेदेखि लकडाउनलाई कडा बनाइएको थियो । तर सर्वसाधारणले अटेर गरेको सुरक्षाकर्मीहरुको गुनासो छ । नागरिकलाई कोरोना र लकडाउन सम्बन्धि प्रशिक्षणहरु दिएको भएपनि उल्लङ्घन गर्ने नघटेको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक विकास राईले बताए । उनका अनुसार लकडाउको २३ दिन पुगिसक्दा समेत उल्लङ्घन गर्ने नघटेपछि उनीहरुलाई नै प्रशिक्षण दिन लगाइएको हो ।
लकडाउनको उलङगन गर्ने नबुझने भन्दा पनि अधिकांश बुझनेहरु नै रहेको उनले बताए । सडकमा उभ्याएर नागरिकलाई सजाय दिएको भन्दा पनि शिक्षा दिनका लागि उभिन लगाएको राईको भनाई छ । प्रहरी सडकमा उभिएर २४ घण्टा खटदा कतिको सहज, अप्ठयारो हुन्छ भन्ने शिक्षा दिनलाई उनीहरुलाई उभिन लगाएको उनले भने ।
तपाईको प्रतिक्रिया