काठमाण्डौं/प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा हुन लागेको राष्ट्रिय गान बजाउने अभियानमा सबैलाई सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले अनुरोध गरेका हुन् ।
ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो । कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिनेको प्रोत्साहन र राष्ट्रियत एकता प्रदर्शन गर्न यस्तो अभियान चलाइएको हो ।
यसैगरी नेपाल पत्रकार महासंघसहित नागरिक संस्थाहरुले वैशाख १ गते नै कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा खटिएका योद्धाहरुको सम्मानमा एक मिनेट देशभरि ताली बजाउन सामुहिक आग्रह गरेका छन् । नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले सबै भन्दा जोखिम उठाउँदै कोरोना भाइरस रोकथाम र उपचारमा खटिएका नेपाली स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, र समुदाय स्तरमा खटिएका स्वयंसेवकसँगै लकडाउनको पालना गरिरहनुभएका आम जनसमुदायप्रति नयाँ बर्ष २०७७ को पहिलो दिन सोमवार बैशाख १ गते बिहान ६ बजे एक मिनेट ताली बजाएर उच्च सम्मान व्यक्त गर्न सामुहिक आव्हान गरेको जानकारी गराएका हुन् ।
‘नयाँ वर्ष २०७७ को पहिलो दिन आ–आफ्नो स्थानबाट १ मिनेट ताली बजाऔ र विभिन्न महासंघ, संजाल र नागरिक संस्थाका प्रतिनिधिहरुबीच ५ मिनेटसम्म नेटवर्क बैठक मार्फत् त्यसलाई प्रवाह गरौं, पत्रकार महासंघसहित नागरिक संस्थाहरुको आह्वान छ ।
तपाईको प्रतिक्रिया