काठमाण्डौं / लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।
आज दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले दुई दिन काठमाण्डौं बाहिर जाने दिने निर्णय गरेको थियो । तिब्र आलोचना भएपछि उपप्रधानमन्त्री पोखरेलले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय नै नभएको बताए ।
कोरोना भाइरस (कोभिड–१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।
उपप्रधानमन्त्री पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । संघीय सरकारले काठमाण्डौमा अलपत्र परेका मजदुरहरुलाई घरजान दिन सकिन्छकी भन्ने विषयमा छलफल गरेपनि प्रदेश सरकारका मुख्यमन्त्रीहरुले त्यसको विरोध गरेपछि संघीय सरकारले निर्णय फिर्ता गरेको थियो ।
तपाईको प्रतिक्रिया