प्रतिरोधात्मक शक्ति बढाऔं : कोरोनालाई हराऔं

खबर पूर्वाञ्चल, २१ चैत्र २०७६, शुक्रबार १९:२४
मिलन खरेल (जीव विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, धरान

अहिले सारा जगत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्दको लडाइमा जुटेको छ ।

विकसित मुलुकहरुको तुलनामा नेपालमा यसको कहर केहि कम देखिए पनि ढुक्कले बस्ने अवस्था छैन । यो लेख तयार पार्दा सम्ममा विश्वभर दुइसय चार देशहरुमा करीव दश लाख तीसहजार भन्दा बढी व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएका र पचपन्न हजार बढीले आफ्नो ज्यान गुमाएका छन् । नेपालमा ६ जनामा संक्रमण पुष्टि भएकोमा एक जना उपचार पछि निको भएर घर फर्किसकेका छन् भने बाँकी क्वारेनटाइनमा उपचाररत छन् । हालसम्म यसको सफल उपचार विधी पत्ता नालागीसकेको अवस्थामा यसबाट जोगिनु नै सर्वोत्तम उपाय भएको विज्ञहरुको ठहर छ ।

अमेरिकाको कोलोराडो राज्य स्थित रकी माउण्टेण्ट इन्स्टिच्युटका प्रमुख वैज्ञानिक एमोरी लोविंसका अनुसार भाइरस संक्रमितहरु मध्ये कसै कसैलाई सामान्य लक्षण समेत नदेखिने, कसैलाई सामान्य रुघाखोकी लागे जस्तो मात्र हुने तर कतिपयलाइ भने जटिल प्रकारको लक्षण सहितको निमोनिया देखा परी ज्यानै समेत जाने गरेको छ । यसो हुनुमा व्यक्तिको आ(आफ्नो शरीरको प्रतिरक्षा प्रणाली (इम्म्युंन सिस्टम) जिम्मेवार हुने गर्दछ ।

प्रतिरक्षा प्रणाली कसरी बढ्छ ?
न्यूयोर्क टाइम्समा प्रकाशित लेखका अनुसार राम्रोसंग निदाउने, मनलाई शान्त राख्ने, आशावादी हुने, पोषिलो खानेकुरा खाने, अल्कोहलले प्रतिरक्षा प्रणाली कमजोर पार्ने हुनाले मदिरा सेवन नगर्ने, शारिरीक व्यायम, ध्यान, योग आदि गर्नाले शरीरको रोगसंग लड्ने क्षमता वृद्धि हुने बताइएको छ । यसका अतिरीक्त भिटामिन सी र डी को सेवनले पनि भाइरस विरुद्ध लड्न मद्दत गर्ने भनिएको छ ।

भिटामिन सि प्राय अमिला फलफूलहरु जस्तै अमला, कागती, सुन्तला, जुनार, टमाटर, अनारस, अंगुर तथा मेवा, ब्रोकाउली आदिमा प्रचुर मात्रामा पाइने गर्दछ । माछा, दुधका परिकार, चीज, अण्डाको पहेंलो भाग, भटमासको दुध (सोया मिल्क) आदिको सेवन गर्नाको साथै परीलो घाममा केहि बेर बस्नाले हाम्रो शरिरलाई भिटामिन डी प्राप्त हुन्छ । अध्ययनका अनुसार कोरोना भाइरसले पार्ने असर भन्दा संक्रमित व्यक्तिको शरीरको प्रतिरक्षा प्रणाली कम्जोर भएका कारण भएको बढीले ज्यान गुमाउने गरेको निस्कर्ष छ ।

के हुन्छ शरीरमा भाइरस प्रवेश गरिसके पछि ?
कोभिड–१९ फैलाउने भाइरसलाइ सार्स –कोभ –२ (सिभिअर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस –टु) नाम दिइएको छ । कुनै पनि भाइरस शरीरभित्र प्रवेश गरिसके पछि शरीरले त्यस विरुद्ध लड्न ’इन्टरफेरोंन’ नामक एक किसिमको प्रोटिन उत्पादन गर्ने गर्दछ । जसले उक्त भाइरसको संख्यात्मक वृद्धि दरलाइ रोक्नुका साथै अन्य प्रतिरोधी कोशीकाहरुलाई समेत भाइरस विरुद्ध आक्रमण गर्न उकास्ने गर्दछ ।

जसका कारण शरीरमा भाइरस फैलिन पाउदैन। यद्दपी भाइरसले पनि उक्त प्रोटिनको आक्रमणबाट आफुलाई बचाउने कोशिश गर्दछ । हावर्ड मेडिकल स्कुलका प्राध्यापक डाक्टर मन्दिप मेहराका अनुसार यदि भाइरस व्यक्तिको श्वासनलीमा स्थापित भएमा उक्त व्यक्तिलाई खोकी लाग्ने र यदि पाचन नलीमा स्थापित भए झाडापखाला लाग्ने हुन्छ । जसका कारण खोकी र झाडापखालाको माध्यमबाट समेत क्रमश संक्रमित व्यक्तिको श्वासनली र पाचन नलीमा रहेका भाइरसलाइ हाम्रो शरीरले निष्काशन गर्ने कोशिस गर्दछ । ज्यादा तापक्रममा भाइरस निस्क्रिय हुने या मर्ने गर्दछ । तसर्थ यो अवस्थामा भाइरसबाट शरीरलाइ छुट्कारा दिलाउनका निम्ति व्यक्तिलाइ ज्वरो समेत आउने गर्दछ ।

शरीरमा कहाँ आक्रमण गर्दछ नोवेल कोरोना भाइरसले ?
शरीर भित्र प्रवेश गरिसके पछि भाइरस कहा स्थापित हुन्छ त्यसकै आधारमा लक्षणहरु देखा पर्ने हुन्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछियु गर्दा उसको नाक मुख बात निस्कने र्याल, सिगान, थुक, खकारका मसिना कणहरुमा रहेका भाइरसहरु हावाको माध्यम हुदै नजिकै रहेको स्वास्थ्य व्यक्तिको नाक मुखबाट प्रवेश गरी स्वास लिदा फोक्सो तर्फ या थुक निल्दा पेट तिर वा दुवै तर्फ जाने गर्दछ ।

अति सुक्ष्म नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको कोषिकाको सतहमा रहने एक विशेष किसिमको प्रोटिन (एसीइ–टु रिसेप्टर) लाइ पगालेर कोषभित्र प्रवेश गर्ने गर्दछ । पहिलोमा यस प्रकारको प्रोटिनले बनेको ढोकाहरु फोक्सोका कोषहरुमा ज्यादा पाइने भएकाले कोरोना भाइरसले फोक्सोमा आक्रमण गर्ने गर्दछ जसका कारण बिमारीलाइ सास फेर्न गाह्रो हुने गर्दछ । दोस्रोमा उक्त भाइरस प्रवेश गर्ने ढोकाहरु (एसीइ टु रिसेप्टर) आन्द्राका कोषिकाहरुमा ज्यादा हुने भएकाले संक्रमित व्यक्तिलाइ झाडापखाला लाग्ने गर्दछ ।

भाइरसको प्रवेश पछि शरीरले उक्त भाइरस बिरुद्द लड्न एन्टीबडी (रगतमा हुने प्रोटिन जसले भाइरस, ब्याक्टेरिया तथा अन्य बाहिरी हानिकारक तत्वलाइ पहिचान गरी नष्ट गर्ने गर्दछ) निर्माण गर्ने र टि(सेल नामक श्वेत रक्तकोषलाइ प्रयोग गर्दछ । नोवेल कोरोना रोग लागेर निको भएका व्यक्तिहरुको शरिरमा विकसित भएको उक्त भाइरस विरुद्धको एन्टीबडी रगत (प्लाज्मा) मार्फत अन्य कोरोना संक्रमितको उपचार समेत शुरु गरिएको समाचार आएका छन । तर कतिपय व्यक्तिहरुमा भाइरस यति चांडो वंशवृद्धी (रेप्लीकेट) गर्छ कि त्यसलाई शरीरको प्रतिरोधात्मक शक्ति (इम्युन सिस्टम ) ले पराजित गर्न सक्दैन । जसको फलस्वरूप शरीरले भाइरसमाथिको आफ्नो नियन्त्रण गुमाउने गर्दछ ।

जोखिम कसलाई बढी ?
नोबेल कोरोना भाइरसले सबै उमेर समुहका व्यक्तिलाइ आक्रमण गरेको पाइएको छ । यद्दपी, क्यालीफोर्निया विश्वविद्यालयका शुक्ष्मजीव विज्ञान विभागका प्राध्यापक डाक्टर वार्नर ग्रीने का अनुसार बुढापाकाहरुमा बढ्दो उमेर संगै प्राकृतिक रुपमै शरीरको रोगसंग लड्ने क्षमता घट्तै जाने भएका कारण त्यस्ता व्यक्ति हरुलाई कोरोना भाइरसको जोखिम ज्यादा हुने गर्दछ । यसका अतिरिक्त बाथ, मधुमेह (टाइप वान), सोरियासिस (छाला सम्बन्धी रोग) आदि जस्ता दिर्घरोगहरु वा कतिपय औषधीको प्रभावले ( इम्युनो सप्रेसन ) समेत प्रतिरोधात्मक शक्ति कम हुने वा ढिलो गरी काम गर्दछ ।

मृत्यु हुन्छ कसरी?
जब फोक्सोमा प्रवेश गरी तीव्र वृद्धिको क्रममा रहेको भाइरसलाई उक्त व्यक्तिको एन्टीबडी र टि (सेलहरुले पराजित गर्न सक्दैनन् तव शरीरले उक्त भाइरसलाइ हराउन ज्यादा मात्रामा साइटोकाइनिन् नामक प्रोटिन उत्पादन गर्दछ । उक्त प्रोटिनका कारण फोक्सोमा रहेका धेरै जसो कोषिकाहरु नष्ट हुने गर्दछन् । फोक्सोमा रहेका मसिना हावाका थैलाहरुमा तरल पदार्थ भरिएर न्यूमोनिया वा कडा संक्रमण (सेप्सिस) हुने गर्दछ । जसका कारण शरिरलाई आवस्यक पर्ने अक्सिजनको अभाव भएर वा शरीरका अङ्ग हरुले काम गर्न नसकेर (मल्टिपल अर्गान फेलिअर) संक्रमित व्यक्तिको मृत्यु समेत हुने गर्दछ ।

बच्ने कसरी ?
एकान्तवास (क्वारेन्टाईन) मा बस्ने, साबुनपानीले बेला बेलामा कम्तिमा बिस सेकेण्ड सम्म मिचीमिची हात धुने, हेण्ड स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम राख्ने, मास्क, पन्जा लगाउने भाइरसलाइ शरिरभित्र प्रवेशमा रोक लगाउन सकिने सजिलो तरीका हो । सावधानी अपनाउदा अपनाउदै पनि यदि हाम्रो शरिरमा भाइरस प्रवेश गर्ने अवस्था रहन्छ भने हामीले हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति अर्थात् रोगसंग लड्ने क्षमता वृद्धि गरी भईरसलाइ पराजीत गर्नुपर्ने हुन्छ । अतः लकडाउनको अवधिभर घरभित्रै बसौं, सुरक्षित रहौं र कोरोनालाइ सबै मिलि पराजित गरौँ ।

Email: milankharel2000@gmail.com

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. इन्द्र निरौला लेख्नुहुन्छ

    जनकारी तथा सुझावका लागि धन्यवाद मित्र

  2. निरज दाहाल लेख्नुहुन्छ

    मित्र मिलन, तिम्रा हरेक लेखहरु उत्कृष्ट अनि समाजलाई सकारात्मक शिक्षा दिने उपयोगी छन । तिमी आफू पनि सुरक्षित रहनु ।
    धन्यवाद

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५