पूर्वाञ्चल खबर
पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका बाबुराम थापाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । थापामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताए ।
चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका थापा चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।
ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका थापालाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । थापालाई आजै आईसियुमा राखेर उपचार गर्ने तयारी गरिरहेको बेला उनको मृत्यु भएको हो । थापाको शव अस्पतालमै राखिएको छ । उनको परीक्षण रिपोर्ट सोमबार मात्र आउने डा. थापाले जानकारी दिए ।