पूर्वाञ्चल खबर

सरकारले कोरोना सङक्रमित बिरामीको उपचारका निम्ति निर्माण गरिरहेकोे अस्पताल निर्माणको ८० प्रतिशत काम सकिएको छ ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै गत चैत ७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले एक साताभित्र प्रदेशमा न्युनतम १० बेडको भेन्टिलेटरसहित ५० शैय्याको अस्पताल बनाउने निर्णय गरेसँगै चैत ८ गतेदेखि विराटनगरस्थित नेशनल ट्रेडिङको खाली भवनलाई अस्पतालको रुपमा विकास गर्ने कार्य थालिएकोमा अहिले अन्तिम चरणको काम भइरहेको छ ।
अस्पताल सञ्चालनका लागि भवनको भौतिक संरचना विकास, मर्मत सम्भार, रङरोगन, बिजुली बत्ती जडान, खानेपानी र अक्सिजन पाईपलाईन जडान लगायतका कार्यहरु भईसकेको छ । यन्त्र उपकरणको जडानको कार्य पनि दु्रतगतिमा अघि बढाईएको छ ।
विराटनगरस्थित कोशी अस्पतालको ईकाईको रुपमा सञ्चालन हुने सो अस्पतालका लागि आवश्यक यन्त्र, उपकरण र मानव संशाधन कोशी अस्पतालबाटै जुटाईने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । अस्पताल सञ्चालनका ७० जना जनशक्ति परिचालन गर्ने तयारी छ ।