कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन : डा.कोइराला

खबर पूर्वाञ्चल, २८ फाल्गुन २०७६, बुधबार २१:१३

विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

आज विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समेत कांग्रेसको उपस्थिति कमजोर भएको उल्लेख गरे । “नेकपाका साथीहरू नै प्रमुख प्रतिपक्ष अलि कडा रुपमा उत्रिनु परो भन्नुहुन्छ,” उनले भने, “नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट छैनन् ।

सरकारका गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना छ । जुनरुपमा कांग्रेसले आवाज उठाउनुपर्ने हो त्यसअनुसार उठाउन सकेको छैन ।” कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको कोइरालाले भनाइ थियो ।

आफ्नै सरकार भएकाले नेकपाका नेताले विरोध गर्ने आँट गर्न नसकेको उनको कथन थियो । नेकपाका नेताहरू नै सरकारको कामबाट वाक्क भइसकेको कोइरालाको टिप्पणी थियो । कांग्रेसले संसदमा आफूलाई खरो रुपमा प्रस्तुत गर्न नसकेको कोइरालाले बताए । राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउनुपर्नेमा उनले जोड दिए ।

कांग्रेस नेतृत्व काठमाडौंमा मात्रै सीमित भएको उनको दाबी थियो । नेतृत्वले आफू निकटका व्यक्तिलाई पद बाँडेर आफू बलियो भएको महसुस गरिरहेको कोइरालाले बताए । नेता कोइरालाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति हुन नसकेको उल्लेख गरे । “नेतृत्वले गुटको राजनीति गर्ने होइन, सभापति भनेको सबैको हो,” कोइरालाले भने, “पार्टीभित्र विचारको बहस हुन्छ । समस्या आउँछ । तर, अहिले सभापतिजी पद बाँडेर आफू बलियो हुन खोज्दै हुनुहुन्छ । गिरिजाबाबु सभापति हुँदा पनि समस्या थियो । तर, उहाँ पद बाँड्नु हुन्नथ्यो । उहाँ आफू अप्ठ्यारोमा पर्दा गाउँ जानुहुन्थ्यो । नेता कार्यकर्तालाई भेट्नु हुन्थ्यो र नेता कार्यकर्ताको विचार बोकेर फेरि काठमाडौं फर्किनु हुन्थ्यो र आफ्ना धारणा सार्वजनिक गर्नुहुन्थ्यो ।”

भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको कोइरालाको ठम्याइ थियो । कोइरालाले शेरबहादुर देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दाबी गरे । “१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदै गर्दा देउवाजीले पार्टीलाई एकढिक्का बनाउँछु, भागबण्डाको राजनीति अन्त्य गर्छु भन्नुभएको थियो । खोई त आफ्नो कार्यकाल सकिँदै गर्दा पनि उहाँले भागबण्डा गरिरहनु भएको छ, गुटगत राजनीतिलाई बढावा दिइरहनु भएको छ” उनले थपे, “भागबण्डाको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत साथ दिइरहनु भएको छ । आफ्नो मान्छे पर्दा चुप बस्ने अनि नपर्दा विरोध गर्ने चरित्र वरिष्ठ नेताहरूमा समेत देखिएको छ । जसको ज्वलन्त उदाहरण नेविसंघलाई लिन सकिन्छ । आफ्नो मान्छे परेपछि उमेर हद नतोक्न पनि उहाँ तयार हुनुभयो ।”

डा.कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दाबी गरे । सरकारले गलत काम गर्ने व्यक्तिलाई कारबाही नगर्दा सरकारप्रति जनताको वितृष्णा बढ्दै गएको कोइरालाले प्रस्ट्याए । वाइडबडी, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, ७० करोड कमिसनलगायतका काण्डका कारण सरकारप्रति जनताको विश्वास गुमेको उनको भनाइ थियो । “प्रधानमन्त्री केपी ओलीजीले सेक्युरिटी प्रेस खरिदको ७० करोड टेपकाण्ड सार्वजनिक हुँदा पनि गोकुल बास्कोटाको डिफेन्स गरिरहनुभएको छ,” कोइरालाले भने, “मैले त अस्ति प्रधानमन्त्रीलाई भेट्दा तपाईंमाथि नै आशंका उब्जिएको छ भनिदिएँ । त्यसपछि प्रधानमन्त्रीजीले गोकुल बास्कोटाले गल्ती गरेको रहेछन् भने पार्टीबाटै निकाल्छु भन्नुभएको छ । अब हेरौं कतिको कारबाही गर्नुहुन्छ ।” उनले सरकार र पार्टीहरूले गरेका गलत कामका विषयमा आवाज उठाउन प्राध्यापक र बुद्धिजीविसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५