पूर्वाञ्चल खबर
२०७५ चैत्र ३ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको तरकारी बजार सञ्चालनमा आउन सकेको छैन ।
विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको तरकारी बजार उद्घाटन भएको एक वर्ष पुग्नलाग्दासमेत सञ्चालनमा आउन नसकेको हो । महानगरपालिकाको बिचमा रहेको अव्यवस्थित गुद्रीबजार स्थानन्तरण गर्नेगरी निर्माण भएको तरकारी बजारमा गुद्रीका व्यापारी जान नचाहेपछि विराटनगर–११ बसपार्क पश्चिम आँप बगैचाको छेउको ३ बिगाहा जमिनमा गुद्रीबजार सार्ने तयारी भएको छ । तर, त्यसमा महानगरको सहमति भने छैन ।
गुद्री बजार व्यावस्थापन समितिले सो स्थानमा फलफुल तथा तरकारी बजारका लागि भौतिक संरचना निर्माणको कार्य गरिरहेको छ । पशुपति भगतलगायतको समूहले नागेश कोईरालाको जग्गा ठेक्कामा लिएर तरकारी बजार सञ्चालन गर्न संरचना निर्माण थालेको हो । महानगरपालिकाको ईजाजतबिना तरकारी बजारको लागि संरचना निर्माण भएको ईन्जिनियर अर्जुन थापाले बताए ।
महानगरपालिकाले विराटनगरको ई–प्लटमा अवस्थित रहेको गुद्री बजार खाली गरेर त्यहाँ व्यवस्थित कम्प्लेक्स बनाउने योजना बनाएको छ । तर, कटहरी १ मा करोडौंको लगानीमा निर्माण भएको तरकारी बजार व्यवस्थापनको भने टुंगो लागेको छ ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई बजार सञ्चालनको जिम्मा छ । मन्त्रालयले कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति बनाएर काम गरिरहेको जनाएको छ । बजार सञ्चालनका लागि प्रदेश १ कृषि निर्देशनालयका प्रमुखको संयोजनमा समिति बनेको छ ।
समितिका कार्यकारी निर्देशक पशुपति पोखरेलले महानगरको गुद्रिका व्यापारी स्टल लिन नआउँदा काम आगाडि बढ्न नसकेको बताए ।
दुई पटक सूचना आह्वान गर्दा पनि गुद्रीका कोही पनि व्यापारिले बुकिङ नगरेकोले बजार सञ्चालनमा आउन नसकेको हो । गुद्रीका व्यापारी नआए अन्यलाई खुल्ला गरेर अगाडि बढ्ने पोखरेलले बताए । महानगरपालिकाले चासो नदिएका कारण बजार सञ्चालनमा अन्योल भएको उनको भनाइ छ ।
गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यसहित त्यहाँका व्यापारस्लाई स्टलमा ७५ देखि ८० प्रतिसतसम्म छुटमा स्टल खरिद गर्ने सूचना निकालिएको थियो ।
गुद्रीका व्यापारी जान अटेरी गरेका कारण प्रदेश सरकारलाई अरु व्यवसायीलाई कटहरीको बजारमा राख्नसक्ने राय लेखेर पठाउने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए ।