पूर्वाञ्चल खबर
सप्तकोशीमा तीन वर्षदेखि सञ्चालन हुँदै आएका मोटरबोट (पानी जाहाज)का सञ्चालकहरूले असुरक्षा बढेको भन्दै २९ माघदेखि बन्द गरेका थिए ।
स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज पुनः सञ्चालनमा आएको हो ।
भोजपुर हतुवागढी गाउँपालिका– ९ कोप्चे र धनकुटाको सहिदभूमि गाउँपालिका –९ त्रिवेणीका स्थानियलाई भाडामा सहुलियत दिएपछि सहमति भएको हो । कोप्चे र त्रिवेणीका स्थानियले सप्तकोशीमा चल्ने जल यातायातले अत्याधिक भाडा कायम गरेकोले सहुलियत दरमा आवतजावत गरिदिनुपर्ने माग राखेका थिए । स्थानियको मागको सुनवाई भएपछि बन्द भएको जेटबोट सञ्चालनमा आएको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
जलयातायात सुनसरीको बराहक्षेत्रबाट भोजपुरको हतुवगढी–९ कोप्चेसम्म सञ्चालन हुँदै आएको थियो । वराहाक्षेत्र नगरपालिका १ चतराघाटदेखि हतुवागढीको कोप्चेसम्म स्थानियलाई चार सय र पर्यटकलाई पाँच सय रुपैयाँ लिदै आएका थियो । स्थानियले विरोध गरेपछि अहिले २ सय ५० रुपैयाँमा यात्रा गर्ने सहमति भएको त्रिवेणीका धनबहादुर राईले जानकारी दिए ।
सप्तकोशीमा मोटरबोट सञ्चालनमा आए पछि आन्तरिक र वाहृय पर्यटकहरुले जलयात्रा गर्ने बढेको छ । भोजपुर र धनकुटाबाट सुनसरी उदयपुर आउने जाने स्थानीय यात्रुहरूलाई पनि सहज भएको छ । सप्तकोशीमा मोटरबोट सञ्चालनमा आएपछि बराहक्षेत्र र आसपासमा आन्तरिक र वाह्य पर्यटक बढेका छन् । दैनिक ३ सय बढीले जलयात्रा गर्ने गरेको बताइन्छ ।
सप्तकोशीमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार जल यातायात कम्पनीले तीनवटा लामो दुरीका र चारवटा छोटो दूरीका मोटरबोट सञ्चालन गर्दै आएका छन् ।
सप्तकोशीमा १५ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका मोटरबोट सञ्चालनमा आएपछि तराई र पहाडको दूरीलाई जलमार्गले घटाएर स्थानीय यात्रुलाई सुविधा दिएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्फोटेसन प्रालिका अध्यक्ष राजेन्द्र कार्कीले बताए ।