विराटनगर / ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित बुद्धबिहार मार्ग अलकाटोल समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
स्थानीय भद्राचोकमा आयोजित कार्यक्रममा समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिक भेषप्रसाद कोइराला र भुवनेश्वरी दाहाललाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र समितिका अध्यक्ष यादनरसिंह कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै सोही अवसरमा कवि कृष्णराज कोइराला, इन्द्र बानिया, तारा नेपाल, मोहनकृष्ण शाक्यले प्रजातन्त्रसम्बन्धी रचना वाचन गरे ।
समारोहमा वडाध्यक्ष न्यौपाने, बुद्धबिहार टोल विकास समितिकी अध्यक्ष सरस्वती खरेल, प्राध्यापक भूषण ढुंगेललगायतले प्रजातन्त्र दिवसलाई भुल्न नहुनेमा जोड दिए । उनीहरूले अहिलेको लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको प्रजातान्त्रिक आन्दोलन नै भएको बताए । त्यस अवसरमा स्वागतद्वारमा राष्ट्रिय झण्डोत्तलनसमेत गरिएको थियो ।
२०७३ सालदेखि हरेक वर्ष प्रजातन्त्र दिवसका दिन ज्येष्ठ नागरिकको सम्मान र झण्डोत्तलन कार्यक्रम गर्दै आएको समितिका सचिव खगेन्द्र संग्रौलाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया