पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश ५ र गण्डकी प्रदेश विजय हुँदै दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेलमा प्रदेश ५ ले विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको निर्धारित समयमा आर्मीले केही राम्रो गोलको अवसर चुकाउँदा हार व्यहोर्नु प¥यो ।
टाइब्रेरमा प्रदेश ५ का सानु लामा, मनिष गुरुङ, रोहित लामा र शशी डरलामीले गोल गरेका थिए भने मो.सिद्धिकको बललाई गोलरक्षकले बचाउ गरे । त्यस्तै आर्मीका प्रदीप राजवंशी, देवसिंह धामी र रोशन चौधरी मात्रै गोल गर्न सफल भए भने रोमन राना र दीपेन्द्र ऐरको बल गोलरक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ द म्याच प्रदेश ५ का कार्तिक गुरुङ भए ।
दोस्रो सेमीफाइनल खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
खेलको १३ औं मिनेटमा पिताम्बार थापाले गोल गरेका थिए । २२, ३१ र ५२ औं मिनेटमा सुमितकुमार कामीले गोल गरे भने ४३ औं मिनेटमा राजन नेपाली गोल गरेका थिए । म्यान अफ द म्याच गण्डकीका गणेश ठकुना भए ।
शुक्रबार पहिलो खेल तेस्रो स्थानका लागि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच हुनेछ भने उपाधि जितका लागि गण्डकी प्रदेश र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ ।