पूर्वाञ्चल खबर
विराटनगर / अनुयायी बलत्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।
जिल्ला अदालत सुनसरीले आज गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिए ।
आइतबारदेखि चलेको थुनछेक बहसमा बादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । दुवै पक्षको बहसपछि अदालतबाट यस्तो आदेश भएको थियो ।
कात्तिक ४ गते महिला अनुयायीमाथि करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई थुनछेक बहसपछि अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । बलत्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा क्याबिनमा उपचारकालागि मंसिर १२ गते दिउँसो भर्ना भएका थिए । सिद्धबाबा मंसिर १६ गते पक्राउ परेका थिए । सिद्धबाबालाई मंसिर १६ गते बिहान ५ बजे सुनसरी प्रहरीले पक्राउ गरेर पहिलो पटक अदालतबाट ४ दिनको म्याद थप गरिएको थियो ।
त्यसपछि मंसिर २० गते दोस्रो पटक ५ दिनको, मंसिर २७ गते तेस्रो पटक ७ दिनको, मंसिर ३० गते चौथो पटक ७ दिनको र पुस ७ गते पाँचौ पटक ३ दिनको बिहीबार अदालतमा मुद्दा पेस भएको थियो ।