पूर्वाञ्चल खबर
इटहरी / बढी ब्याज दिने प्रलोभन देखाएर विभिन्न व्यक्तिको साढे २० लाख रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ८ का ४८ वर्षीय सुवास श्रेष्ठ र इटहरी ९ का ३६ वर्षीय दोर्ण श्रेष्ठलाई ठगी आरोपमा पक्राउ गरेको हो ।उनीहरुले इटहरीका मनिका कटुवालबाट ५ लाख ६० हजार, इटहरी ८ की मधुमाया कटुवालबाट ४ लाख ८६ हजार ४३५, इटहरी ५ की तारा आचार्यबाट १ लाख, कमला श्रेष्ठ प्रधानबाट २ लाख, मोरङ सुन्दरहरैंचा ५ का लालचन्द्र बस्नेतबाट ५ लाख २९ हजार ६४० र बराहक्षेत्र नगरपालिका २ की रन्जिता कटुवालबाट ७० हजार रुपैयाँ ठगेको उजुरी प्रहरीमा छ । उनीहरुले २० लाख ४६ हजार ५७ रुपैयाँ ठगी गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
ठगीमा संलग्न रहेका अन्य दुई जना फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । राष्ट्रबैंकबाट बैंकिङ कारोबारको अनुमति नलिई उनीहरूले कान्तिपुर गहना भण्डारको नाममा पासबुक छपाएर बढी ब्याजको प्रलोभनमा रकम उठाएर ठगेको प्रहरीले जनाएको छ । गहना पसलका सञ्चालक सुवास हुन् ।पक्राउ परेकाहरुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।