पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगर– २ शनिहाटमा शनिबार राति ग्यास लिक भइ आगलागी भएर मृत्यु भएको भनिएको घटना शंकास्पद रहेकोले प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरेको छ ।
पुराना पत्रकार ७४ वर्षीय जयप्रकास दाहालको ग्यास लिक भएर मृत्यु भएको घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
काठमाडौं बसोबास गर्दै आएका दाहाल शनिबार दिउँसो घरसायी कामले विराटनगर आएका थिए । उनको घर काठमाडौस्थित ज्ञानेश्वर र विराटनगर दुवै ठाउँमा रहेको छ । काठमाडौदेखि विराटनगर आएपछि उनी शनिहाट बजारदेखि उत्तर पट्टी रहेको घरमा एक्लै बस्दै आएको अवस्थामा आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् ।
दाहालको कम्बरदेखि मुनिको भाग पूर्ण रुपमा जलेर मृत अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेपनि घटनाको विस्तृत अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ ।
‘घटनाबारे हामीले विस्तृत रूपमा अनुसन्धान सुरु गरेका छौं,’ एसपी अधिकारीले भने, ‘अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’ धरानस्थित संघीय प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा ल्याएर अनुसन्धान सुरु गरिएको छ । आधा शरिर जलेको दाहालको घाँटीमा गहिरो चोट देखिएका कारण घटना शंकास्पद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै चक्कु पनि भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
मृत अवस्थमा भेटिएको दाहालको दुई तले घर रहेको छ । उनको शव पहिलो तलाको बिच कोठामा रहेको थियो । उनको शव भएको कोठाको अगाडि भान्सा रहेको छ । भान्सामा रहेको ग्याँस उनी सुत्ने कोठाभित्र कसरी पुग्ने भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । दाहालको ओछ्यान नजिकै ग्यासको सिलिण्डर केही नहुनु र पाइप मात्र जलेको अवस्थामा भेटिनुले पनि घटना शंकास्पद देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
घटनास्थलमा ग्यासको पाइप जलेको अवस्थामा कोशी ग्यासको सिलिण्डर छ । पाइप जलेर पग्लिए पनि सिलिण्डर सुरक्षित छ । प्रहरीका अनुसार राधेश्यामले आफ्नो कोठामा खाना खुवाएपछि शनिबार साँझ जयप्रसादलाई मोटरसाइकलमा हालेर घरमा छोडिदिएका थिए । आइतबार विहान उनी जयप्रकासलाई भेट्न आउँदा घरमा धुवा देखेपछि स्थानीयलाई खबर गरेका थिए ।
धानको व्यापार गर्ने राधेश्याम करिब २७ वर्षदेखि दाहालको घर भाडामा लिएर बस्दै आएका थिए । दाहालले घर बेच्ने भएपछि गत मंसिर १ गतेदेखि घर खाली गराएका थिए । दाहाल कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्रीका लागि विराटनगर आएको बताइएको छ । थप अनुसन्धानको लागि विराटनरस्थित कोशी अञ्चल अस्पतालमा दाहलको शव पोष्मार्टको लागि पठाएको प्रहरीले जनाएको छ ।
२००२ सालमा जन्मिएका दाहालका श्रीमती सावित्रा र २ छोरा छन् । सम्पादक समाजका कोषाध्यक्ष रहेका ७४ वर्षीय दाहाल २०२५ सालदेखि विराटनगरलाई कार्यथलो बनाएर पत्रकारिता गर्ने पुराना पत्रकार हुन् ।
तत्कालिन मातृभूमि साप्ताहिकका पत्रकार डम्बर थापालाई समाचार लेखेको आरोपमा राजकाज मुद्दा लागेपछि थापा, जीवेश्वर लाखे र मृतक दाहालसहितको समूहले विराटनगर प्रेस क्लव समेत गठन गरेका थिए । दाहालले २०३९ सालदेखि नेपाल खबर दैनिक र मायालु साप्ताहिकको सम्पादकको रुपमा रहेर काम गरेका थिए । २०५८ सालदेखि उनले काठमाडौंलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएको बताइएको छ ।