पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका सिलिण्डरबाट ग्यास लिक भई आगोलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ ।
काठमाण्डौमा परिवार सहित बस्दै आएका अंदाजी ७०-७५ वर्षिय जयप्रसाद दहाल शनिबार बेलुकी विराटनगर २ सनिहाट चोक नजिकै आफ्नै घरमा आएर बसेकोमा आज विहान कोठाको ढोका नखोलेपछी र कोठाबाट धुवा बाहिर आएको देखेर कोठा भाडामा बस्ने ब्यक्तीहरुले तत्काल प्रहरीमा खबर गरेका थिए ।
खबर प्राप्त हुनसाथ घटनास्थलमा पुगेको वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले दाहाललाई कोठा भित्र जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।
मृतक भेटिएको कोठामा कोशी ग्याँसको पाईप जलेको र रेगुलेटरको क्याप निस्किएको अवस्थामा भेटिएको छ भने मृतकको शरिरका अधिकांश भाग जलेर कोठाको भुईमा लडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।