पूर्वाञ्चल खबर
विराटनगर / आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेपछि अस्पताल भर्ना भएका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सिकिस्त बिरामी भएको नाटक गर्दै आइसियूमा भर्ना भएका छन् ।
विराटनगरमा रहेको विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आईसीयूमा भर्ना भएका हुन् ।
सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न आज जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको टोली विराटनगरस्थित विराट नर्सिङ होममा पुगेको छ । डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगेका छन् ।उनी आएलगतै चिकित्सकले सिद्धबाबालाई आईसीयूमा सार्न भनेका थिए । एक्कासी उनको मुटुको चाल बढेपछि डाक्टर ज्ञानेन्द्र गिरीको सिफारिसमा आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।
उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो ।
तर एकाएक मुटु र छातीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ बजे आईसीयूको १० नम्बर बेडमा सारिएको हो । सिद्धबाबाको उपचारमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेतृत्वको चिकित्सक टोली खटिएको छ । आइतबार बिहान ९ बजेसम्म सिद्धबाबाले आफ्ना शुभचिन्तकसँग भेटघाट गरिरहेका थिए ।