खबर पूर्वाञ्चल

प्रतिनिधि सभामा १, प्रदेश सभामा ३ र स्थानीय तहका ४८ सिटको लागि ४ लाख ५४ हजार मतदाताले मताधिकार प्रयोग गदैै छन् ।
आज विहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानको समय बेलुकी ५ बजेसम्मलाई तोकिएको छ । शान्ति सुरक्षाको अवस्था मजबुद रहेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशराज थपलियाले ढक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उपनिर्वाचन अन्र्तगत कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको लागि मतदान हुँदैछ ।
यस्तै प्रदेश सभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क), बाग्लुङ क्षेत्र नम्बर २ (ख) र दाङ क्षेत्र नम्बर ३ (ख) मा मतदान हुँदै छ । स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।
रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।
आयोगले अन्तिम मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएका मतदातालाई फोटो सहित सरकारले जारी गरेको परिचय पत्रका आधारमा पनि मतदान गर्न सक्ने जनाएको छ ।