RUMPUM
animated ellipse animated ellipse

सुरक्षा भरपर्दा भएमात्र सुशासन : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७६, आईतवार १८:३३
3
Shares

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा व्यवस्था भरपर्दो भएमात्र सुशासन कायम गरि समृद्धि हासिल गर्न सकिने बताए ।

संघीय सरकारको गृह र प्रेदश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सबै प्रकारको अपराध नियन्त्रण गरि शान्ति सुरक्षा र सुव्यवस्थापन कायम गरिनुपर्नेमा जोड दिए ।

सुरक्षा चुनौति बढेको भन्दै मुख्यमन्त्री राईले विप्लप समूहलाई इङकित गर्दै प्रदेशमा चन्दा आतंक बढेको बताए । उनले संगठित अपराध, हत्या हिंसा, चोरी लुटपाट जस्ता घटना हुन नदिन भरपर्दो सुरक्षा कायम गनुपर्ने बताए । उनले संघ प्रदेश र स्थानीय तहको सहकार्य राम्रो भएमात्र समाजका सबैखाले अपराध नियन्त्रण हुने र शान्ति सुरक्षा भरपर्दो भएर जाने बताए । उनले संघमा प्रहरी ऐन बनिसकेकोले अब चाँडै प्रदेशमा पनि प्रहरी ऐन लागू हुने जानकारी गराए । ‘प्रदेशमा सुरक्षा चुनौती बढेको छ,’ उनले भने, ‘सबै प्रकारको अपराधलाई नियन्त्रण गरेर सुव्यवस्थापन कायम गरेर जानु पर्दछ ।’

मुख्यमन्त्री राईले भ्रष्टचार अन्त गरेर सुशासन कायम गराउनका लागि कठोर बन्न प्रदेशमा रहेका सबै सुरक्षा निकायलाई निर्देशन दिए । ‘भ्रष्टचार रहेसम्म जनताले शान्ति सुरक्षाको अनुभूति भरपर्दो ढंगले गर्न पाउँदैनन,’ मुख्यमन्त्री राईले भने, ‘योजना र सेवामा हुने कमिसन तथा भ्रष्टचार अन्त्य गराउन प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएकोले त्यसलाई कठोरतासाथ पालना गरिनु पर्दछ ।’ एक नम्बर प्रदेशलाई नमुना बनाउन सुशासन कायम गराउनैपर्छ यसैले सबैले कठोर बन्न आवश्यक रहेको उनले बताए । भ्रष्टचारको सूचना पाएमा सरकारले एक घण्टाभित्र कारबाही गरेर देखाउने प्रतिवद्धता गरेको जानकारी गराउँदै गलत गर्नेहरू कसैले पनि उन्मुक्ति पाउन नसक्ने मुख्यमन्त्री राईको भनाई थियो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा निकायलाई बलियो बनाउन प्रदेश सरकारले सुरुदेखि नै सहकार्य र सहयोग कायम राखेको बताए । उनले प्रदेश सरकारले निरन्तर सुरक्षा निकायलाई विभिन्न सवारी साधन, भवन र अन्य कार्यक्रमका लागि बजेट प्रदान गरिरहेको जानकारी दिए । उनले अझै प्रदेशमा लागूऔषधको बेचबिखन र प्रयोग, मानव ओसारसार लुटपाट, चन्दा आतङ्क, महामारी र विपदका घटनाहरू सुरक्षा चुनौतिका रूपमा रहेकोले न्यूनिकरण गर्न ठोस कायाोजना कार्यान्वयन गनुपर्नेमा जोड दिए ।

प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले सुरक्षा व्यवस्था भरपर्दो भएमात्र विकासको वातारण बन्ने भएकोले कुनै पनि कसर बाँकी नराखी काम गर्नुपर्नेमा जोड दिए । प्रदेश १ अन्तर्गत १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र विभागीय प्रदेश प्रमुखहरूको सुरक्षा भेलामा सहभागि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर