पूर्वाञ्चल खबर
काठमाण्डौं/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकमी आफैंबाट सुशासनको थालनी गर्नु पर्ने बताएका छन् ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले परिर्वतन र सुशासनका लागि राजनीतिक दल आफैं प्रतिबद्ध हुनुपर्ने बताए । राजनीतिक क्रान्तिसँगै आर्थिक विकासमा क्रान्ति आवश्यक रहेको भन्दै प्रचण्डले यसतर्फ लाग्न सबैलाई आग्रहसमेत गरे । राजनीतिक नेतृत्व इमान्दार नहुँदा मुलुकमा अराजकता सिर्जना गर्ने तत्व सक्रिय हुँदै गएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । पर्यटन क्षेत्रको विकासबाट मात्र मुलुकको आर्थिक विकासले गति लिने भन्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको समृद्धिका लागि नेपालमा पर्यटन विश्वविद्यालय खोल्ने योजना रहेको बताए ।