पूर्वाञ्चल खबर
विराटनगर / प्राविधिक गुणस्तरमा सुधारसहित कार्यालयलाई अझ प्रविधिमैत्री बनाउन विराटनगर महानगरपालिका सक्रियरुपमा लागेको छ ।
नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने अभियानलाई अझ चुस्त बनाउन आज कार्यालयमा रहेका कर्मचारीहरुलाई तालिम समेत प्रदान गरिएको छ । वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा महानगरले दिइरहेको भएपनि यसलाई अझ गुणस्तरिय र सहजरुपमा ब्यवस्थित गर्न महानगर लागि परेको छ ।
सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत भइरहेका छन् । स्मार्ट सिटी बनाउने तयारीमा जुटेको महानगर आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन इन्जिनियर सहित आइटी अफिसरहरुलाई समेत तालिम प्रदान गरिरहेको विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।
विराटनगर महानगर पूर्णरुपमा प्रविधिमैत्री बनेसंगै विराटनगरका हरेक कामका योजना ,तीनको प्रगती ,उपभोक्ता समितिका पदाधिकारी र तीनले गरिरहेका सवै काम अनलाइनमा राखिने छ । जनताले सहजरुपमा नगरको विकास र अवस्थावारे जानकारी पाउन सक्नेछन् ।
विराटनगरलाई स्मार्ट सिटी वनाउने अभियानमा होमिएका महानगरका मेयर भीम पराजुली विराटनगरवासीले चाहेको जस्तो नगर बनाउने बताउँछ्न् । अवको एक वर्षमा नगरका अधिकांश भाग पिच भइसक्ने र नगरवासीको चाहना अनुरुपका संरचना बन्ने दावी मेयर पराजुलीको छ । नगर प्रविधिमैत्री र जनअपेक्षाअनुरुपको शहर बनेसंगै विराटनगर समृद्ध बन्नेमा मेयर पराजुली आशावादी देखिन्छन् ।