पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा सम्पन्न भएको पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरिएको छ ।
विराटनगर महानगरपालिकाले प्रतियोगिता सम्पन्न भएको ५ महिनापछि साफ च्याम्पियन्सिपमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला फुटबल टोलीका खेलाडी तथा खेल पदाधीकारीहरुलाई आज विराटनगरमा सम्मान गरिएको हो ।
महानगर प्रमुख भीम पराजुलीले खेलाडीलाई जनही ५० हजार नगद सहित खेलाडीहरुलाई सम्मान गरेको हो । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै प्रदेश सरकारले पनि भोली सम्मान गर्ने कार्यक्रम रहेको छ ।
साफको फाइनलपछि महानगरले उपविजेता टोलीलाई ५० हजार रुपैयाँले सम्मान गर्ने घोषणा गरेको थियो ।
महानगरपालिकाका मेयर भीम पराजुलीले महिला खेलाडीलाई हौसल्ला प्रदान गर्न र आगामी दिनमा जीत हासिल गर्ने गरी प्रोत्साहन गर्न आबश्यक भएको औल्याए । खेल जगतको विकासका लागि विराटनगर महानगरले उल्लेख्य सहयोग गरिरहेको मेयर पराजुलीले बताए । मेयर पराजुलीले साफ च्याम्पियनसिपका कारण महिला फुटबल प्रतियोगिताको स्तर बढेको बताए । महानगरले काठमाडौं बाहिर पहिलो प्रतियोगिता आयोजना गर्न पाउनु गौरभको विषय भएको बताउँदै महानगर खेल क्षेत्रको विकासमा लाग्ने बताए । उनले विराटगरले महिला फुटबलको लिग आयोजना गर्ने बताए ।
अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरपालिकाको सहयोगमा आयोजना भएको महिला फुटबलले अन्तराष्ट्रिय स्तरमा नेपालको शिर उच्च भएको बताए । विराटनगरको साफ सफल भएपछि काठमाडौं बाहिर प्रतियोगिता गर्न सकिन्छ भन्ने बातावरण बनेको बताए ।
नेपाली महिला फुटवल टिमका प्रशिक्षक हरी खड्काले विराटनगरमा महिला साफ च्याम्पियन्सिपको आयोजना गरेर ऐतिहासिक सफल प्राप्त गरेको बताए ।