पूर्वाञ्चल खबर
इनरुवा / सर्पदंशको प्रकोप बढिरहेको बेला प्रदेश नं. १ स्तरीय शिक्षा तालिम केन्द्र इनरुवाले शिक्षकहरुलाई तालिम प्याकेजमा सर्पदंश सम्बन्धी नयाँ विषयवस्तु समावेश गरी तालिम दिएको छ ।
साविकका विषयवस्तुहरुलाई निरन्तरता दिइरहे तापनि यस पटक माध्यमिक विद्यालय तहका सामाजिक विषयको तालिम प्याकेजमा सर्पदंश सम्बन्धी विषयवस्तु समेटिएको तालिम प्रमुख राजेन्द्र बुढाथोकीले बताए ।
सामाजिक विषयले विविध विषयहरुलाई समेट्ने भएकोले अहिले सर्पदंशको मौसम भएकोले यस विधामा तालिम आवश्यक भएको ठहर गरी विशेषज्ञहरु मार्फत् सचेतना तालिम दिइएको प्रमुख बुढाथोकीले जानकारी दिए । सर्पदंश सम्बन्धी विज्ञ प्रशिक्षकहरु स्नातकोत्तर क्याम्पसका सह–प्राध्यापक कुलप्रसाद लिम्बू र उप–प्राध्यापक रामचन्द्र अधिकारीले तालिम दिए । उनीहरुले सर्पको चिनारी,क्रमविकास,स्वभाव र बासस्थान, विषालु सर्पको पहिचान गर्ने तरिका,सर्पदंशबाट बच्न अपनाउनु पर्ने सावधानीका उपायहरु र सर्पदंश भइहालेमा के गर्ने भन्ने विषयसूचीअनुसार प्रशिक्षण दिए । साथै विभिन्न प्रजातिका विषालु तथा अविषालु जीवित सर्पहरु प्रदर्शनी गर्दै सर्पको आनीबानी,खानपानका बारेमा प्रेम विष्टले जानकारी दिए ।
दश दिने उक्त पेशागत विकास तालिमको नवौँ दिनमा यस्तो विषय प्रस्तुत गरिँदा सहभागीहरुले खुशी तथा उत्साह व्यक्त गरे । सहभागीका तर्फबाट बोल्दै छथर तेह्रथुमका शिक्षक कुलबहादुर बस्नेतले भने सामाजिक विषयका शिक्षकले अनेक विधाको ज्ञान लिनुपर्छ आज सर्पसम्बन्धी विल्कुल फरक ज्ञान पाइयो,भ्रमहरु हटाइयो,यसलाई विद्यार्थी र समाजमा प्रसार गरी लैजाने छौँ । नवौँ दिनको कक्षा समापन गर्ने क्रममा प्रशिक्षक कुलप्रसाद लिम्बूले शिक्षक र विद्यार्थीलाई सर्पबारे सिकाउन जरुरी भएको जोड दिँदै यस्ता सचेतनामूलक तालिम चलाउने जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
तालिम प्रमुख बुढाथोकीले तालिम प्याकेजभित्र विज्ञ प्रशिक्षकहरु झिकाएर नयाँ विषयमा तालिम आयोजना गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले आगामि प्याकेजहरुमा समेत यो विषयलाई नछोडिने भन्दै सिंगो तालिम केन्द्रलाई गुणस्तरीय सुधार गरी लैजाने योजना रहेको बताए ।
प्रदेश नं. १ का छ वटा शैक्षिक तालिम केन्द्रलाई हटाई प्रदेश सरकारले शिक्षा तालिम केन्द्र इनरुवालाई प्रदेश स्तरीय तालिम केन्द्रको रुपमा विकास गरेको हुनाले यसलाई अझै परिस्कृत र गुणस्तरीय बनाइनेछ प्रमुख बुढाथोकीले बताए ।