पूर्वाञ्चल खबर
विराटनगर । तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण एक सय हेक्टर तरकारी खेती डुवानमा परेको छ ।
लोहन्द्रा खोला र जुडि खोलाका कारण तरकारीको पकेट क्षेत्र कटहरी गाउँपालिकामा लगाइएको तरकारी खेतिसमेत डुवानमा परेको छ । बाढीका कारण प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत कटहरीमा लगाइएको एक सय १० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी खेति डुवानमा परेको किसान कोपिन्द्र सिंहले बताए ।
एक सय ४० जना किसानहरुको सहभागिता रहेको तरकारी ब्लकमा घिरौला, कांक्रा, भिन्डी, बोढी, भन्टा, लौका, करेलालगायतका तरकारी डुवानमा परेको सिंहले बताए । लगभग तीन फिट पानी जमेको बताउँदै उनले घाम लागेपछि तरकारीका बोटको जरा मर्ने भएकाले डुवान भएका लगभग ९० प्रतिशत तरकारी खेति नष्ट हुने बताए ।
जहदा गाउँपालिका ४ का नन्दकिसोर मरण्डीको १० कठ्ठामा लगाइएको भन्टा, ६ कठ्ठा कांक्रा, ६ कठ्ठा बोढी र ४ कठ्ठामा लगाइएको घिरौला डुवानमा परेको बताए । लोहन्द्रा र जुडि खोलाको पानी खेतमा पसेको उनले बताए।