पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालीका महिला फुटबल प्रतियोगिता विजेता टिमलाई नगदरसहित सम्मान गरेको छ ।

महानगरपालिकाले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न उप–मेयर कप अन्तर नगरपालीका महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टिमलाई सम्मान गरेको हो । उपाधिसँगै ५ लाख जितेको महिला टिमलाई महानगरपालिकाका प्रमुख भीम पराजुलीले थप ५ लाखसहित १० लाख रुपैयाँ टिमलाई दिँदै बधाई तथा शुभकामना दिए । उनले उपाधि जित्नुले विराटनगर खेलकुदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताए । प्रमुख पराजुलीले खेलकुद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरले खेलकुद नगरपरिषद् गठन गरेर यसक्षेत्रको समग्र विकासका लागि काम थाल्ने तयारी गरेको बताए ।
क्रिकेट/फुटबलतर्फ ५०/५० जना महिला, पुरुषतर्फ १०० /१०० जनालाई प्रशिक्षण दिइ दक्ष बनाउन आउने आर्थिक बर्षमा काम गर्ने बताए ।
महिला टिमका व्यवस्थापक उद्धव अर्यालले निकै मेहनत गरेर विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताए । विराटनगरले विशिबार काठमाण्डौंमा भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको हो ।