पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको युनाइटेड क्लबले मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
विराटनगरको रानी मिल्स एरियास्थित जुट मिल्सको खेलमैदानमा आज सम्पन्न भएको खेलमा युनाइटेडले रमाइलो यूवा परिवार क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ । कडा प्रतिस्पर्धाका बीच सम्पन्न खेलमा जित हात पारेको युनाइटेडका लागि कप्तान टंकु लामाले दुई र बुद्ध बलले एक गोल गरेका थिए । त्यसैगरि, रमाइलोले सान्त्वनाका रुपमा एक गोल फर्काएको थियो। प्रतिस्र्धात्मक खेलको दोश्रो हाफमा एक खेलाडीले रेडकार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमीत बनेको थियो । तथापी रमाइलो यूवा परिवार क्लब खेलमा फर्कन सकेन । जित हात पारेको युनाइटेडले समूह ए मा ३ अंक बनाएको छ ।
त्यसैगरि, प्रतियोगिता अन्र्तगत लेटाङमा सम्पन्न अर्को खेलमा रानी यूवा क्लब र त्रिवेणी वाचनालय समान एक गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य भएका छन् । रोमाञ्चक बनेको खेलको छैटो मिनेटमा गोल गर्दै रानी यूवा क्लबले अग्रता लिएको थियो । सुरुवातबाटै त्रिवेणीलाई दबावमा राखेको रानीका लागि विजय ढकालले गोल गरेका थिए । यद्पी खेलको ३० औं मिनेटमा त्रिवेणीले बराबरी गोल फर्काएको थियो । त्रिवेणीका लागि सौरव खत्रीले गोल गरेका थिए।
पहिलो हाफमा दुवै टोलीले समान एक गोल गरेपछि दोश्रो हाफमा सम्हालिएर खेल अघि बढाएका थिए। यससंगै समूह सी मा रहेको दुवैटोलीले समान एक अंक बनाएका छन् ।
विराटनगरको जुट मिल्स र लेटाङमा गरि दुई स्थानमा सुरु भएको जिल्ला लिगका लागि विभिन्न चार समूहमा १४ वटा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्र्तगत सोमबार जुट मिल्समा उर्लाबारी फुटबल क्लबले मुनाल क्लबको सामना गर्नेछ । त्यसैगरि, लेटाङमा हुने खेलमा सम्राट स्पोर्टिंग्स क्लबले साइनो स्पोर्टस क्लबको सामना गर्नेछ ।