पूर्वाञ्चल खबर
विराटनगर / उपप्रधान तथा रक्षामन्त्री सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र प्रचण्डवीच आलोपालो गर्नेबारे पार्टी भित्र छलफल नभएको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टी भित्र औपचारिक ढंगमा छलफल नभएको बताएका हुन् ।
मन्त्री पोखरेलले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा अयोगले प्रकाशन गरेको सूचनामाथि सरकारले हस्तक्षेप नगर्ने समेत बताए । मन्त्री पोखरेलले संवैधानिक निकायले संविधानको व्यवस्था अनुरुप गर्ने काममा कार्यपालिकाले हस्तक्षेप नगर्ने बताए ।
प्रदेश तहमा लोकसेवा आयोग गठन हुने संविधानको व्यवस्था भए पनि प्रदेशहरुमा लोकसेवा आयोग नबनेको हुँदा स्थानीय तहमा कर्मचारीको आवश्यकता पूर्ति गर्न आयोगले सूचना प्रकाशन गरेको मन्त्री पोखरेलले स्पष्ट पारे ।
मन्त्री पोखरेलले आयोगको सूचना समावेशी सिद्धान्तमै आधारित रहेको दाबी पनि गरे। उनले अस्थायी तथा करार सेवामा भर्ना गर्ने अधिकार दिँदा अनियमितता हुने गरेको गुनासो आइरहेकोले पनि आयोगले निष्पक्षरुपमा कर्मचारी भर्ना गर्नु उचित हुने बताए । उनले संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगको सूचना रद्द गर्न दिएको निर्देशन बारे जानकारी लिइनसकेको बताए ।
संघीय सरकारमा आवश्यकता भन्दा बढी कर्मचारी राखेर तिनको व्यवस्थापन नगरी नयाँ भर्ना गर्ने प्रक्रिया अघि बढेको सम्बन्धमा उनले केन्द्रमा भएका कर्मचारीले पनि आवश्यकता पूरा हुन नसक्ने भएकैले प्रक्रिया अघि बढाएको दाबी गरे। अर्को प्रसंगमा कार्यवहाक प्रधानमन्त्रीसमेत रहेका पोखरेलले पार्टी एकतापछि तत्कालको आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताए । उनले आगामी महाधिवेशनबाट पार्टी संरचना र विचारको प्रश्न समाधान गर्ने पनि स्पष्ट गरे।
मन्त्री पोखरेलले लोकतन्त्रमा सञ्चार माध्यम समाचार लेख्न प्रशारण गर्ने कुरालाई नियन्त्रण गर्ने भन्दा पनि नियमन गर्ने कुरा मात्र हुने बताए । ‘प्रेस स्वतन्त्रताको पक्षमा लडेको शक्ति, जो सरकारमा छ,’ पोखरेलले भने ‘यसले नियन्त्रण गर्ने भन्ने कुरा कल्पना गर्न सक्दैन, तर व्यवस्थित गर्नका लागि नियम गर्ने आवश्य छ ।’