पूर्वाञ्चल खबर
विराटनगर /विगत ३५ वर्ष देखि शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगर – २ मा रहेको बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रमका साथ यस वर्षको २५६३ औं बुद्ध जयन्ती भब्यताका साथ मनाएको छ ।
कार्यक्रमको शुरुमा कक्षा नर्सरी देखि कक्षा पाँचसम्मका स–साना बच्चाहरु भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए । नाट्य मञ्चनको क्रममा बुद्धको भूमिका कक्षा ९ का सार्थक गौतमले निर्वाह गरेका थिए । कार्यक्रमको क्रममा विद्यार्थीहरुले शान्ति गीत गायन तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्घमा समर्पित नेपाली भाषामा नाटकसमेत प्रस्तुत गरेका थिए । उक्त नाटकमा गौतम बुद्घले दिएका सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिइएको थियो । उक्त नाटकमा कक्षा पाँच देखी दस सम्मका विद्यार्थीहरु कलाकारका रुपमा सहभागी थिए ।
ग्रिष्मा पोखरेलले गौतम बुद्घ सम्वन्धि कविता वाचन गरेकी थिइन् भने कार्यक्रममा छात्राहरुको सामूहिक नृत्य पनि त्यतिकै आकर्षक रहेको थियो ।
कार्यक्रममा विषेश भुमिका निर्वाह गर्नुहुने शिक्षक विनोद चौधरी र बालकृष्ण भट्टराई तथा शिक्षिका मन्जु प्रधानलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यवाद दिएका थिए ।