पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले अपराध र हिँसाबाट समाजलाई मुक्त गरी सभ्य र सुरक्षति समाज निर्माण गर्न सबैको दायित्व रहेको बताए ।
‘सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकारी आयोगद्वारा आज विराटनगरमा आयोजित ‘ महिला हिँसा न्यूनीकरण मानव अधिकार संरक्षण एवं सुरक्षाः नेपाल प्रहरीको जवाफदेहिता’ विषयक “राष्ट्रिय अभियान” कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले एउटा निश्चित उद्देश्य र लक्ष्य पूरा गर्न राज्य अघि बढिरहेको अवस्थामा सबैको सम्मान हुनु पर्छ भन्दै सरकारले सुरक्षा र सुशासनलाई विशेष जोड दिएको कुरामा जोड दिए । मुख्यमन्त्री राईले प्रदेशको सुरक्षालाई बलियो र सुदृढ बनाउन सरकारले धेरै सवारी साधनहरु उलब्ध गराएको छ जानकारी दिँदै हिँसामा परेकालाई समाजमा पुनःस्थापित गराउन प्रदेश सरकारले ल्याउन नीति तथा कार्यक्रमा पुनःस्थापना केन्द्र स्थापना गर्ने ल्याउने कुरामा जोड दिए ।
प्रदेश नं. १ का उपसभामुख सरस्वती पोखरेलले महिलालाई उच्च सम्मान दिनु पर्ने समाजमा महिला हिँसा, बलात्कार र शोषण घटना बढ्नु दुःख लागेको बताइन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि महिलाहरुले पीडित बन्न नपरोस् हेतु नेपाल प्रहरी कार्यरत क्षेत्रमा निकै सम्वेदनशील रहेको बताउँदै अपराधका घटना बढ्नु, यौनजन्य, शोषण र बलात्कार घटना हुनुमा समाजको परिवेश पनि चित्रण गरेको बताए । उनले कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले काठमाण्डौमा पाँच करोड ८१ लाख लागतमा सिसि क्यामेरा जडान गर्न लागको जानकारी दिँदै समाजलाई सुरक्षित पार्न यस्ता उपकरण सहयोगी रहेको चर्चा गर्नु भयो । उनले बुटबल, सुर्खेत र चितवनमा खुल्ला कारागार निर्माण गर्ने अवधारणा ल्याएको स्पष्ट पार्दै कानून अज्ञानतालाई कम गर्न ल्याएको अभियान अहिले एक लाख ९० हजार जनतामा पुगेका र भविष्यमा ६० लाख जनता माझमा पुग्ने जानकारी दिए ।
आयोगका सदस्य मोहना अन्सारीले मानिसले आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्छ अनि मात्र समाजमा महिलाहरु सुरक्षित रहने कुरामा जोड दिए । प्रदेशका प्रमुख न्यायाधिवक्त चुडामणि आचार्यले समाजलाई सबै क्षेत्रबाट सुरक्षित पार्न सचेतना र चेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनु पर्ने बताए । आयोगका विराटनगर कार्यालय निर्देशक मोहनदेव जोशीले प्रदेश नं.१ अन्तर्गतका १४ जिल्लामा बलात्कार, महिला हिँसा र शोषण, बाल विवाह, बेचविखन जस्ता घटनाका बारेमा जानकारी दिए ।