CLASSICTECH NET

नौ दिनपछि रिनाको दाहसंस्कार, आन्दोलनमा सहयोग नपाएको भन्दै संघर्ष समिति विघटन

खबर पूर्वाञ्चल, १६ बैशाख २०७६, सोमबार १५:२८

विराटनगर / मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा आप्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको न्यायका लागि आन्दोलन गर्न भन्दै गठन भएको संघर्ष समिति विघटन भएको छ ।

बस्नेतको शव वैशाख ७ गते आप्mले बसेको डेरा अगाडी नग्न अवस्थामा फेला परेको थियो । आइतबार आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको दाहसंस्कार गरेपछि कबिता पराजुली संयोजकत्वको संघर्ष समिति विघटन गरिएको हो । स्थानीयबासीले बलात्कारपछि हत्या भएको आशंका गरे पनि प्रहरीले भने घरको छतबाट खसेर मृत्यु भएको बताउँदै आएको छ । ‘हामीले रिनाको न्यायका लागि आन्दोलन गर्दा उहाँको परिवारबाट सहयोग भएन,’ संघर्ष समिति संयोजक पराजुलीले भनिन्, ‘परिवारको सहयोग नपाएपछि संघर्ष समिति विघटन गरिएको उनले बताइन् ।’

रिना मृत्यु प्रकरणको बास्तविकता बाहिर नल्याएको भन्दै पथरी उद्योगी वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरी स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।

आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार असान्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए ।

आइतबार भएको दाहसंस्कारमा संघर्ष समिति सहभागि भएन । न्यायका लागि प्रहरीलाई दवाव दिन केही दिन शवको अन्त्येष्टि नगर्न दवाव दिँदै आएको संघर्ष समितिले आफूहरुसँग सल्लाह नगरी अन्त्येष्टि गरिएको भन्दै सहभागी नभएको उनीहरुले जनाएका छन् । समितिकी संयोजक पराजुलीले अन्त्येष्टिका नाममा न्यायलाई तिलाञ्जली र आहुती दिन आफूहरु नगएको बताइन् । दाहसंस्कार गर्ने खबर पाएपछि संघर्ष समिति रोक्नका लागि शनिवार राति नौ बजे रिनाको माइती पक्ष मधुमल्ला पुगेको थियो । समितिका सदस्य पुग्दा रिनाको माइती पक्षले ढोका नखोली प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी पुग्दा संघर्ष समिति फर्किइसकेको थियो ।

दाहसंस्कारको विषयमा बुझ्न माइती पक्ष गएको टोलीलाई रिनाकी आमाले घरपक्षको निर्णय मान्ने बताएपछि फर्किएको संघर्ष समिति संयोजक पराजुलीले बताइन् ।

दाहसंस्कार नगर्न संघर्ष समितिको एउटा टोली रिनाको घर पक्षलाई भेट्न आएको थियो । घर पक्षले नमानेपछि माइती पक्ष पुगेको टोलीसँग आफन्तले दाहसंस्कार गर्ने अडान लिएपछि संघर्ष समिति दाहसंस्कारमा पनि सहभागि भएन ।

पोस्टमार्टम रिपोर्टले पनि छात्ती भित्र र टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखाउँदैन । शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो ।

अहिलेसम्म प्रहरीले घटनाका विषयमा २५ जनासँग सोधपुछ गरिसकेको छ । अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएक कमल नेपाल प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

घटनापछि वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका रिनाका पति सन्तोष बस्नेत पथरी आइसकेका छन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५