पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर / / साविकको विजेता भारत विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारत पाँचौं संस्करणको सवै फाइनल खेल्ने एक मात्र छोली हो । विराटनगरको शहिद मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त नेपालसँग पक्का गरेको हो । आगामी शुक्रबार साफको फाइनलमा चौथो पटक घरेलु मैदानमा नेपालले भारतको सामना गर्दै छ ।
नेपालले आजै भएको पहिलो सेमीफाइनल खेलमा श्रीलंकालाई ४–० गोल अन्तरलेनै पराजित गरि फाइनलको यात्रा तय गरेको छ । भारतको जितमा इन्दुमाती काथिरसानले दुई तथा डालिमा छिब्बरले र मनिषाले एक–एक गोल गरिन् ।
भारतले खेलको १७ औं मिनेटदेखि डालिमा छिब्बरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । सन्जु यादवको कर्नर प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले क्लियर गर्न नसक्दा छिब्बरले मौका पाएकी थिइन ।
२२ औ. मिनेट भारतकालागि इन्दुमतिले अर्को गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएकी थिइन् । सन्जुको वान टु वान पासमा विपक्षी गोलरक्षकलाई विट गर्दै काथिरसानले आफ्नो टिमका लागि दोस्रो गोल गरिन् । ३७ औं मिनेटमा इन्दुमतिले वान भर्सेस वानको स्थितिमा बललाई पोष्टको दिशा दिंदै मध्यान्तर अघि भारतलाई ३–० को अग्रता दिलाइन् । इन्दुमतिले ब्यक्तिगत दोस्रो गोल गरिन् ।
पहिलो हाफ फितलो पर्दशन गरेको बंगलादेशले दोस्रो हाफमा सुधारिएको खेल देखाएको थियो । खेल सकिन केही सेकेण्डमा भारतका लागि मनिषाले गोल गर्दै भारतलाई ४–० गोलको जिताइन्। म्निषा ६७ औं मिनेटमा ग्रेस डाङ्गमेको बदलामा मैदान प्रवेश गरेकी हुन् ।
जितपछि भारतकी प्रशिक्षक मेमोल रोकीले आफ्नो टोलीले स्वभाविक र सन्तुलित खेल खेलेको बताइन । ‘पहिलेदेखि नै हामीले यस्तै प्रदर्शन गर्ने अपेक्षा राखेका थियौं । खेलाडीले त्यही अनुसार प्रदर्शन गरे,’ उनले भनिन्, ‘बंगलादेशले पनि उत्कृष्ट प्रदर्शन ग¥यो । पछिल्लो समय नेपाल पनि भारतलाई टक्कर दिने हिसावमा आइरहेको छ ।’ अबको यात्रामा नेपालसँगको रणनीति तयार गरेर उपाधि हत्याउने लक्ष्य आफ्नो टिमको रहेको उनको दावी छ ।
बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले भारतले सुरुदेखि नै डोमिनेट गरेर खेलेको बताए । ‘हामी सुरुमै काउन्टर एट्याक्कको रणनीति बनाएर खेलेका थियौं,’ उनले भने, ‘गर या मरको स्थितिमा रक्षात्मक भन्दा पनि आक्रामक रुपमा उत्रने हाम्रो रणनीति थियो ।’ त्यही रणनीति सफल नहुँदा सुरुवातबाटै गोल खाएर दबाब झेल्नु परेको र आफ्ना खेलाडी फनिसिङमा चुक्दा फराकिलो अन्तरको हार बेहोर्नु परेको उनले बताए । ९ वर्ष अघिबाट सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो संस्करणसम्म उपविजेता बन्यो । पहिलो, दोस्रो र तेस्रो संस्करणमा भारतसँग नै नेपालको उपाधि भिडन्त भएको थियो ।
चौथो संस्करणमा भने भारत र बंगलादेशबीच उपाधि भिडन्त भएको थियो । चौथो संस्करणमा उपाधि नजिक पुग्नबाट चुकेको नेपालको पाँचौं भने भारतसँगै भेट भएको छ ।