RUMPUM
animated ellipse animated ellipse

भरतमोहन अधिकारीलाई गृहनगर विराटनगरमा श्रद्धाञ्जली अर्पण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७५, आईतवार १८:३१
9
Shares

विराटनगर / गए राती निधन भएका नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई गृहनगर विराटनगरमा श्रद्धाञ्जली अर्पण गरियो ।

विराटनगरस्थित नेकपाको पार्टी कार्यालयमा आज अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । अधिकारीको विराटनगर १० बहेली टोलमा घर रहेको छ । नेपालको पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्री हुँदा अधिकारीले ल्याएको जनमुखी कार्यक्रमको यहाँ चर्चा हुने गरेको छ । समग्र देशका लागि उहाँले ल्याएका कार्यक्रम महत्वपूर्ण र दूरगामी रहेको नेकपाका नेता तथा पूर्व सांसद ऋषिकेश पोखरेलको बताए । अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम होस् या आफ्नो गाउँ आफैं बनाउ जस्ता कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय छ ।

२०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनेको बेला अधिकारीले यस्तो कार्यक्रम ल्याएका थिए। ‘नेपालको मात्रै नभएर अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि अधिकारीको निधनले क्षति व्यहोरेको छ,’ पोखरेलले भने, ‘देशलाई दिएको योगदान विराटनगर र मोरङका लागि पनि थियो ।’ अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत त्यसबेलै अघि सारिएको थियो ।

अधिकारीको योगदानको चर्चा गर्दै तत्कालीन एमालेका मोरङका पूर्व अध्यक्ष महेश रेग्मीले उनीजस्तो मिलनसार र योजना निर्माण गर्न सक्ने नेता विरलै पाउन सकिने बताए । वृद्धवृद्धालाई कम्युनिस्टले ६० वर्ष नाघेपछि मार्छन् भन्ने हल्ला चलाइएको बेला अधिकारीले वृद्ध भत्ता दिने कार्यक्रम ल्याएर विरोधीको मुखमा बुजो लगाइदिएको थियो । अधिकारीले त्यसबेला ल्याएको कार्यक्रमको स्मरण गर्दै विराटनगर ६ का भेषप्रसाद ढकालले जनमुखी र लोकप्रिय कार्यक्रम ल्याएकै कारण उनको कद अहिलेसम्म उँचो भएको बताए । विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका अधिकारीले विराटनगरको आदर्श माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका थिए । अधिकारी मोरङ क्षेत्र २ बाट २०४८ देखि २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । अधिकारीले स्थानीय सडक, साना सिंचाइ, स्वच्छ खानेपानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सीपमूलक तालिम र रोजगारी, सामुदायिक वृक्षरोपण, साना जलविद्युतको विकासबाट ग्रामीण विद्युतीकरण तथा साना तथा घरेलु उद्योगसँग सम्बन्धित विकास कार्यक्रमलाई एकीकृत गरी ‘९ स’ को अभियान चलाएका थिए ।

विराटनगरकी यूवा नेतृ नमिता न्यौपानेको नजरमा अधिकारी देशका लागि अमूल्य योगदान गर्ने व्यक्ति थिए । महिलाको सम्पत्तिमाथिको अधिकार स्थापित गर्न जग्गादर्तामा छुट दिने परम्पराको सुरुवात पनि अधिकारीले गरेको बताइन्छ । समग्र राष्ट्रलाई अधिकारीले दिएको योगदान नै विराटनगर र मोरङका लागि पनि भएको भन्दै गृहनगरका स्थानीयले उनलाई सम्झिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर