पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश नम्बर १ को सुनसरी र उदयपुर जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको धरान उप महानगरपालिका -६ सेरापुलबाट प्रहरीले बिहीवार साँझ लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित विराटनगर महानगरपालिका- २१ रानीका २५ वर्षिय रुस्तान मियाँलाई पक्राउ गरेको हो । बा २३ प ५९०९ नम्बरको मोटरसाईकलमा सवार रहेका मियाँलाई चेक जाँच गर्ने क्रममा शरिर तथा मोटरसाईकलमा लुकाई राखेको अवस्थामा लागूऔषध स्पास्मोप्रोक्सिभोन ट्याब्लेट १ सय ३६ क्याप्सुल बरामद गरेको हो ।
पक्राउ परेका मियाँलाई बरामद लागूऔषध र मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विहिबार राती १० बजे लागूऔषध सहित त्रियुगा नगरपालिका -६ का ३४ वर्षिय गणेश चौधरी, त्रियुगा नगरपालिका -११ का २४ वर्षिय बिगेश राई र २४ वर्षिय अशोक भन्ने आशिष राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारागन ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, डाईजेल्याव ७ एम्पुल सहित ४ थान सिरिन्ज बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।