पूर्वाञ्चल खबर
विराटनगर/ मोरङको झोराहाट नाट्य समूहमा सञ्चालन हुँदै आएको ‘गाउँमा कविता’ शृंखला केही समयका लागि स्थगित भएको छ ।
झोराहाटमा ३ वर्षदेखि ‘गाउँमा कविता’ शृंखला सञ्चालन हुँदै आएको थियो । जहाँ हरेक महिनाको दोस्रो शनिबार चारजना कविले चार–चारवटा कविता वाचन गर्दथे । नेपाल र भारतका १ सय ४० भन्दा बढी कविले आफ्ना सिर्जना वाचन गरिसकेका छन् । परिकल्पनाकार गण्डकीपुत्रले केही समयपछि नयाँ स्वरुपका साथ शृंखलालाई निरन्तरता दिने बताए । झोराहाट नाट्य समूहको आयोजनामा हुँदै आएको शृंखला केही महिनादेखि हुन सकेको थिएन ।
परिकल्पनाकार गण्डकीपुत्र अमेरिका गएपछि शृंखला सञ्चालनको जिम्मेवारी कवि रमेशचन्द्र अधिकारीले पाएका थिए । अधिकारी शृंखलाबाट अलग भएपछि प्रयाग न्यौपानेले संयोजन गर्दै आएका थिए । कार्य व्यस्तताका कारण शृंखला सञ्चालनको जिम्मेवारीबाट बाहिरिएको न्यौपानेले बताए । “मैले झोराहाट नाट्य समूहका अध्यक्ष भरतजी गुरागाईंजीलाई म भ्याउँदिन भन्दिसकें,” न्यौपानेले भने ।
गण्डकीपुत्र अमेरिकाबाट फर्किसकेका छन् । “हामी अब शृंखलालाई नयाँ स्वरुपका साथ अगाडि बढाउने योजनामा छौं,” गण्डकीले भने, “तर, अब झोराहाट नाट्य समूहभन्दा बाहिर हुनेछ गाउँमा कविताको शृंखला ।”
यता नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले भने शृंखला स्थगित नभएको दाबी गरे । उनले बर्बरिक नाटक काठमाडौंमा मञ्चन गर्ने क्रममा व्यस्त भएका कारण अघिल्लो महिना गर्न नसकिएको बताए । नयाँ संयोजक तोकेको यही महिनादेखि शृंखलालाई निरन्तरता दिइने उनले बताए । “गाउँमा कविता शृंखला स्थगित भएको छैन,” गुरागाईंले भने, “नयाँ संयोजक तोकेर यही महिनादेखि फेरि शृंखला सुरु गर्छौं ।”