पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा ८९ पुरुष र एक महिला रहेका छन् । रथयात्राको विशाल भिडमा भक्तजनलाई दुःख दिने, पाकेटमारी गर्ने, बहुमूल्य गहना तथा सामान चोरी गर्ने र अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङका प्रहरी उपरीक्षक एसपी कवित कटवालका अनुसार पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । ‘रथयात्रामा सहभागी हजारौँ भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै शंकास्पद व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिने रणनीति अपनाएका हौँ,’ एसपी कटवालले भने, ‘यात्रा अझै जारी रहेकाले पक्राउ पर्नेको संख्या बढ्न सक्छ ।’
प्रहरीले रथयात्राको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । भिडको निगरानी र सम्भावित जोखिमको वस्तुस्थितिको जानकारी लिन ड्रोन क्यामेरासमेत प्रयोग गरिएको छ ।
भीडभाडको मौका छोपेर हुन सक्ने चोरी, पाकेटमारी र झैझगडाजस्ता आपराधिक क्रियाकलाप रोक्न सादा पोसाकका प्रहरीलाई पनि व्यापक रूपमा खटाइएको छ । प्रहरीले भक्तजनहरूलाई आफ्नो सामानको सुरक्षा आफैँ गर्न, बालबालिका तथा वृद्धवृद्धाको ख्याल राख्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।