पूर्वाञ्चल खबर
विराटनगर / मोरङको सुन्दर हरैचा नगरपालिकाले राजमार्ग क्षेत्रमा सुविधा सम्पन्न शौचालय निर्माणको प्रक्रिया तिब्र रुपमा भइरहेको छ । ९ करोड ६४ लाख लागतमा आधुनिक शौचालय निर्माणको प्रकृया तिब्र भइरहेकोे हो ।
स्थानीयबासीको अग्रसरतामा निर्माण सुरु गरिएको सौचालय सुविधा सम्पन्न हुनेछ । नगरपालिकाले पूर्व पश्चिम राजमार्गको सन्दुहरैचा नगरपालिका खण्डमा ६ वटा र विराटचोक विराटनगर सडक खण्डमा एउटा शौचालय निर्माण तिब्र बनाएको हो ।
‘निर्माणको काम तिब्र भैरहेको छ ।’ सार्वजनिक शौचालय निर्माण महाअभियानका अध्यक्ष भोलेश्वर दुलालले भने ‘शौचालय भवन भित्र सम्पूर्ण सुविधा हुनेछ ।’ निर्माणाधिन शौचालयमा पुस्तकालय, चमेना गृह, शैलुन, आराम कक्ष र इन्टरनेटको सुविधा हुने छ ।
महाअभियान अन्तरगत विराटचोक, खोर्साने, बलिया, सलकपुर, गछिया, गोठगाउ र हरैचामा शौचालय निर्माणधिन अवस्थामा छ । हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गमा पर्छन् । सातवटै शौचालय एउटै डिजाइनमा निर्माण हुदैछ ।
निर्माणधिन शौचालयको पहिलो तल्लामा अडियो भिडियो सुविधा सहित पुस्तकालयको व्यवस्था गरिएको अध्यक्ष दुलालले बताए । ‘निर्माणधिन शौचालय यूरोपियन मापदण्डको हुन्छ ।’ दुलालले भने ‘ शौचालय प्रवेशको ढोका पनि आधुनिक हुन्छ ।’
शौचालयलाई आवश्यक बिजुली शौचायलबाट नै उत्पादन गरिने छ । अन्तराष्ट्रीय मापदण्डको स्तरमा बनाउन ढोका पनि यूरोपबाट नै मगाउने तयारी भएको दुलालले बताए । निर्माणधिन सातवटा मध्ये चारवटा शौचायल निर्माणको काम ८० प्रतिशत हाराहारी पूरा भएको छ ।
कसरी जुट्यो स्रोत
अध्यक्ष समेत रहेका दुलालको अग्रसरतामा सुरु महाअभियान अन्तरगत शौचायलमा सुन्दरहरैचा नगरपालिकाले ३५ प्रतिशत मात्र लगानी रहनेछ । बाकी ६५ प्रतिशत पूजि व्यवस्थापन स्थानीयबासी, व्यपारीहरुबाट जुटाइनेछ । ‘सुन्दरहरैचामा बस्ने एक व्यक्तीले न्यूरनतम १०० रुपैया सहयोग गर्नुपर्छ ।’ दुलालले भने ‘ जनसमुदायबाट २० प्रतिशत रकम उठाउने लक्ष्य छ ।’
स्थानीयबासीबाट १ करोड ९२ लाख ९२ हजार संकलन गरिने छ । त्यस्तै स्थानीय व्यवसायीहरुबाट ३० प्रतिशत अर्थात २ करोड ८९ लाख ३८ हजार रुपैया संकलन गरिने छ ।
बैंक बितिय संस्था तथा एसोसिएटहरुबाट एक करोड ४४ लाख ६९ हजार रुपैया संकलन गरिने छ । नगरपालिकाले भने ३ करोड ३७ लाख रुपैया लगानी गर्नेछ ।
शौचालय निर्माण महाभियान समितिले सहयोग गर्नेहरुको नामावली सातवटै शौचायलमा राखिएको डिजिटल विज्ञापन बोर्डमा दिनको २५ पटक २५ बर्ष सम्म प्रदर्शन गर्नेछ ।