खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा विराटनगर –१६ स्थित भट्टीमोडका ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर–१५ का २८ बर्षीय अपजर अली रहेका छन ।
पक्राउ परेका तीनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सुचना पाईपछी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा तीनै जनालाई पुरुषोत्तमको घरबाट आइतबार राति ११ बजेतिर पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुले अनलाइन्बाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल््न आएको छ । प्रहरीले तीन साताअघि पनि सट्टेबाजी खेल्ने, खेलाउने तीन जनालाई विराटनगरबाट पक्राउ गरेको थियो ।
सट्टेबाजीमार्फत बाजी लगाउँदा हारेको रकम उठाउनलाई व्यक्तिको अपहरण, शरीर बन्धक एवं कुटपिट गरिएको विषयमा गत असोज २५ गते नियन्त्रणमा लिइएका विराटनगर–११ का २५ वर्षीय रोनल कँडेलमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । कांग्रेसको भातृ संगठन तरुण दलमा आवद्ध कँडेलमाथि सट्टेबाजीमा हारेको पैसा असुल्न सञ्जय सिंघललाई नियन्त्रणमा लिएर अपहरण गर्दै रातभर होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोप छ । प्रहरीका अनुसार सिंघलले फेसबुकबाट घटना सार्वजनिक गरेपछि कँडेल अवैध रुपमा सट्टेबाजी खेल्ने र खेलाउनेहरुको लिस्ट बोकेर सूचनाकर्ता बन्दै प्रहरी कार्यालयमा पुगेका थिए ।
प्रहरीका अनुसार सट्टेबाजीलाई कानुनले पूर्ण रुपमा निषेध गरेको छ । कुनै पनि खेलकुद प्रतियोगिता एवं विभिन्न गतिविधी र समसामयिक परिवेषको पक्ष एवं विपक्षमा आनलाइनमार्फत ठूलो रकम बाजी लगाएर अवैध रुपमा हुने प्रतिबन्धित खेल सट्टेबाजी हो ।
पछिल्लो समय पक्राउ परेका तीन जनाविरुद्ध सट्टेबाजी ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन सोमबार म्याद थप गरिएको प्रहरीको भनाइ छ । सट्टेबाजीमा ठूलो रकमको हारजीत हुने गरेको पाइएपछि प्रहरीले नियन्त्रणका लागि विराटनगरमा विशेष अप्रेशन चलाएको छ । एसपी खड्काले पक्राउ परेका सट्टेबाजहरुबाट उनीहरुको कनेक्सन खोतल्दै घटनाको अनुसन्धानबाट जरोसम्म पुगेर सट्टेबाजीको सञ्जाल भत्काउने योजना रहेको जानकारी दिए ।